पोखरा,
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने २८औँ पोखरा सडक महोत्सव तथा विश्व पर्यटन दिवस मिनि सडक महोत्सवका लागि संयोजक चयन गरेको छ।
रेवान पोखराको आज बिहीबार बसेको कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको बैठकले २८औँ पोखरा सडक महोत्सवको संयोजकमा रेवान पोखराका द्वितीय उपाध्यक्ष श्री योगेश भट्टराईलाई सर्वसम्मत रूपमा चयन गरेको हो। त्यसैगरी, यही २०८३ साल असोज ११ गते आयोजना हुन लागेको विश्व पर्यटन दिवस मिनि सडक महोत्सवको संयोजकमा रेवान पोखराका कार्यसमिति सदस्य श्री कृष्ण अधिकारीलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरिएको छ।
पोखरालाई ८“अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य”८का रूपमा स्थापित गर्ने उद्देश्यसहित आगामी २०८३ साल पौष १३ गतेदेखि १७ गतेसम्म फेवाताल किनारको लेकसाइड क्षेत्रमा २८औँ पोखरा सडक महोत्सव आयोजना हुँदैछ। करिब साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने महोत्सवले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखराको मुटु लेकसाइडमा विगत २७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपालकै ठूलो पोखरा सडक महोत्सव अहिले २८औँ संस्करणको संघारमा आइपुगेको छ।
रेवान पोखराको आयोजनामा “सडक मै खाऊँ, सडक मै नाचौँ, सडक मै रमाऊँ” भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले खाना, संस्कृति र संगीतलाई एकै स्थानमा प्रवर्द्धन गर्दै आएको छ। महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यवसाय, कला, संस्कृति, कृषि तथा समग्र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुर्याउँदै आएको छ।
२८औँ संस्करणलाई थप व्यवस्थित, आकर्षक तथा प्रभावकारी बनाउँदै पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेको रेवान पोखराले जनाएको छ।
यसैगरी, विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने मिनि सडक महोत्सवमार्फत विषम परिस्थितिका बाबजुद पनि “पोखरा खुला छ” भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
रेवान पोखराले दुवै महोत्सवलाई सफल बनाउन पर्यटन व्यवसायी, स्थानीय संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, सञ्चारमाध्यम र सम्पूर्ण पोखरेलीको सहयोग तथा सहकार्य आवश्यक रहेको जनाएको छ।