पोखरा,
जीडब्लुएम नेपालका लागि पोखराको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको बुद्धचोकमा नयाँ तथा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।
बिहीबार आयोजित समारोहमा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले शोरुमको औपचारिक उद्घाटन गरेकी हुन्। उद्घाटनपछि बोल्दै गौतमले पर्यटकीय राजधानी पोखरामा यस्ता विद्युतीय सवारीसाधन भित्रिनुले पोखराको गरिमा बढाउनुका साथै प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

सोही अवसरमा रेज मोटर्सले जीडब्लुएमका दुई नयाँ विद्युतीय सवारीसाधन ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स ईभी’ पोखरा बजारमा सार्वजनिक गरेको हो।
उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधि, स्थानीय उद्योगी–व्यवसायी, सवारीसाधनप्रेमी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
जीडब्लुएमका जर्नल म्यानेजर अजय कुमार श्रेष्ठले जीडब्लुएम ४० वर्ष पुरानो, बलियो र भरपर्दो ब्रान्ड भएको बताए। नयाँ विद्युतीय कारमा कृत्रिम बौद्धिकतामा आधारित सफ्टवेयर, कम मर्मतसम्भार खर्च तथा सुरक्षालाई प्राथमिकता दिइएको उनको भनाइ थियो।


ओरा ५ मा ५८ दशमलव ३ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। डब्लुएलटीपी मापदण्डअनुसार यसले एकपटकको चार्जमा ४ सय ३५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। यसमा २ सय मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र पाँचतारे सुरक्षा मूल्याङ्कन रहेको बताइएको छ।
त्यस्तै, हाभल जोलियन म्याक्स ईभी मा १ सय ५० किलोवाट क्षमताको मोटर र ५८ दशमलव ३ किलोवाट घण्टाको ब्याट्री रहेको छ। यसले एकपटकको चार्जमा ४ सय किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ। गाडीमा प्यानोरामिक सनरुफ, १४ दशमलव ६ इन्चको इन्फोटेनमेन्ट प्रणाली, उन्नत चालक सहायता प्रणाली र भीटूएल प्रविधि समावेश गरिएको छ।

कम्पनीका अनुसार हाभल जोलियन म्याक्स ईभीको मूल्य ५९ लाख ९ हजार ९ सय ९९ रुपैयाँ, ओरा ५ सेमीको ४८ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ र ओरा ५ फुल भेरियन्टको ५३ लाख ९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ।
नयाँ शोरुम सञ्चालनसँगै पोखरा र आसपासका ग्राहकले एउटै स्थानबाट बिक्री, सर्भिस र स्पेयर पार्ट्स अर्थात् तीनै प्रकारका सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
विद्युतीय सवारीसाधनका लागि विशेष तालिमप्राप्त प्राविधिक टोलीबाट मर्मतसम्भार सेवा तथा जीडब्लुएमका मौलिक पार्टपुर्जा उपलब्ध गराइने बताइएको छ।
बुद्धचोकस्थित नयाँ शोरुम सर्वसाधारणका लागि खुला भइसकेको र नयाँ विद्युतीय सवारीसाधनको परीक्षण तथा बुकिङसमेत सुरु गरिएको रेज मोटर्सले जनाएको छ।
