सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने, उपसमिति गठन

पोखरा,

पोखरा उद्योग वाणिज्य संघले वर्षेनि आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ।

संघको बुधबार बसेको दोस्रो कार्यसमिति बैठकले राष्ट्रिय औद्योगिक व्यापार मेलालाई निरन्तरता दिने निर्णय गर्दै मेला कार्यसम्पादन समितिको संयोजकको जिम्मेवारी संघकी अध्यक्ष शोभा गौतमलाई नै दिने निर्णय गरेको हो।

मेलाको मिति भने वस्तुगत संघ–संस्था तथा साझेदारहरूसँग छलफल गरी तय गरिने संघका महासचिव सुदिप प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार मेला सञ्चालनका लागि आवश्यक तयारी, सहकार्य र व्यवस्थापनका विषयमा सम्बन्धित पक्षसँग छलफल अघि बढाइनेछ।

Protin

अध्यक्ष गौतमको अध्यक्षतामा बसेको बैठकले संघका सदस्य तथा गैरसदस्य उद्योगी–व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले ‘हेल्प डेस्क’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। हेल्प डेस्क संयोजकको जिम्मेवारी संघका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलालाई दिइएको छ।

बैठकले संघको विभिन्न उपसमितिको जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार प्रशासन तथा सदस्यता उपसमितिको जिम्मेवारी महासचिव सुदिप प्रधानाङ्गलाई, आर्थिक प्रशासन उपसमितिको जिम्मेवारी कोषाध्यक्ष देवेन्द्र प्रजूलाई र वस्तुगत संघ–संस्था समन्वय उपसमितिको संयोजकको जिम्मेवारी लक्ष्मीप्रसाद अधिकारीलाई दिइएको छ।

संघले व्यापार मेला उद्योगी–व्यवसायीका उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार विस्तार र व्यावसायिक गतिविधिलाई चलायमान बनाउने महत्वपूर्ण माध्यमका रूपमा आयोजना गर्दै आएको जनाएको छ। यस वर्षको मेलामा पनि स्थानीय तथा राष्ट्रियस्तरका उद्योगी–व्यवसायी, उत्पादक, वितरक तथा विभिन्न वस्तुगत संघ–संस्थालाई सहभागी गराउने गरी तयारी अघि बढाइने बताइएको छ।

त्यसैगरी, मेला अवधिमा नयाँ उत्पादन तथा प्रविधिको प्रदर्शनी, व्यावसायिक अन्तरक्रिया तथा उपभोक्तासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने अवसर सिर्जना गर्ने विषयमा पनि संघले आवश्यक तयारी गर्ने जनाएको छ।

मेलाको मिति, स्थान, सहभागी संस्था, प्रदर्शनीका विषय तथा अन्य कार्यक्रमको विस्तृत खाका सम्बन्धित वस्तुगत संघ–संस्था तथा साझेदारसँगको छलफलपछि सार्वजनिक गरिने महासचिव प्रधानाङ्गले बताए।

Leave A Reply

Your email address will not be published.