सुचना, समाचार र मनोरन्जन

‘झिंगे दाउ २’को भव्य प्रिमियर: उत्कृष्ट प्रतिक्रिया र प्रदर्शनअघि नै जापान राइट्स बिक्री

काठमाडौँ :

शुक्रबारदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिंगे दाउ २’को विशेष प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको लाबिम मलमा स्थित क्यूएफएक्स सिनेमामा आयोजना गरिएको प्रिमियरमा चलचित्रकर्मी, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रिमियरमा उपस्थित दर्शक तथा समीक्षकहरूबाट चलचित्रले निकै उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ।

प्रिमियरमा सहभागी धेरैजसोले चलचित्रको मौलिक कथावस्तु, कलात्मक निर्माण, कलाकारहरूको अभिनय र कर्णप्रिय गीतसङ्गीतको मुक्तकण्ठले प्रशंसा गरेका छन्। प्रिमियरपछि प्रतिक्रिया दिँदै निर्माता सरोज न्यौपानेले निर्देशकले अत्यन्तै इमान्दार भएर काम गरेको र यो चलचित्र आगामी तिहारसम्मै हलमा टिकिरहने विश्वास व्यक्त गरे। त्यसैगरी, अभिनेता जयकिशन बस्नेतले चलचित्रले दर्शकलाई पहिलो हाफमा भरपूर हँसाउने र दोस्रो हाफमा भावुक बनाएर रुवाउने बताउँदै सम्पूर्ण अभिभावक तथा परिवारलाई सँगै बसेर हेर्न आग्रह गरे।

Protin

चलचित्र समीक्षक तथा लेखक सामिप्यराज तिमिल्सिनाले ‘झिंगे दाउ २’ लाई शब्द र भाव दुवै दृष्टिले पूर्ण पारिवारिक, मनोरञ्जक र मौलिक चलचित्रको संज्ञा दिएका छन्। पिरियड सेटिङमा विश्वासयोग्य चलचित्र बनाउनु चुनौतीपूर्ण भए पनि यस चलचित्रले सो चुनौतीलाई सहजै स्वीकार गर्दै गम्भीर चलचित्र निर्माणको बलियो उदाहरण पेस गरेको उनको भनाइ थियो।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको संयुक्त ब्यानरमा बनेको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता हुन्। गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन, परिच्छेद सेनको पटकथा तथा संवाद रहेको यस चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन, मित्र डी गुरुङको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाल लगायतका दिग्गज कलाकारहरूको अभिनय देख्न सकिन्छ।

प्रदर्शन नजिकिँदै गर्दा चलचित्रको अग्रिम टिकट बुकिङसमेत खुला भइसकेको छ। नेपालभरका हलहरूमा उच्च शो पाएकाले प्रदर्शकहरू यस चलचित्रप्रति निकै आशावादी देखिएका छन्। प्रिमियरबाट प्राप्त उच्च सकारात्मक प्रतिक्रियाका कारण प्रदर्शनमा आउनुअघि नै यस चलचित्रको जापान प्रदर्शन अधिकार (जापान राइट्स) समेत बिक्री भइसकेको छ।

Leave A Reply

Your email address will not be published.