सुचना, समाचार र मनोरन्जन

बेलायतमा अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ हुँदै, आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिइने

काठमाडौँ :

बेलायतमा बसोबास गर्ने नेपाली संगीतप्रेमीहरूलाई लक्षित गर्दै आगामी अक्टोबर ९ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम ‘सुम्निमा साँझ’ आयोजना हुने भएको छ। एल्डसर्टस्थित एम्पायर हलमा हुने यस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूको भव्य प्रस्तुति रहने आयोजकले जनाएको छ।

नेपाली संगीत, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन्।

सांगीतिक साँझमा चर्चित गायिका मेलिना राई, ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का उपविजेता गायक रोशन राई, चर्चित गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे तथा अभिनेत्री रजनी गुरुङलगायतका कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। विशेषगरी रियालिटी शोमा कोच र प्रतिस्पर्धीका रूपमा सुनिएका मेलिना राई र रोशन राई एउटै मञ्चमा प्रस्तुत हुने भएकाले यस कार्यक्रमलाई चासोका साथ हेरिएको छ।

सुशील नेपालले सञ्चालन गर्ने यस कार्यक्रमका लागि नेपालबाट कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसायरत सचिन बुढाथोकी र रमेश श्रेष्ठसमेत कार्यक्रमका आयोजक हुन्।

मनोरञ्जनका साथसाथै सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यक्रमबाट प्राप्त हुने कुल आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी तथा रसुवाका बाढीपीडित परिवारलाई सहयोगस्वरूप प्रदान गरिने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.