सुचना, समाचार र मनोरन्जन

सिंहदरबार वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन

काठमाडौं,

सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन र जडीबुटीको दिगो संकलनका लागि कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिहीबार छलफलपछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठन गरिएको हो।

बैठकमा सल्लाहकार डा. अग्रवालले तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले जडीबुटीको दिगो संकलनका साथै सम्बन्धित निकायबीच समन्वय गर्न र तत्काल उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउन तथा विदेशमा समेत निर्यात गर्ने गरी काम गर्न निर्देशन दिए।

Chaka Panja

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थ संकलनमा देखिएका समस्या समाधानका लागि कानुनमा सुधार र निकायबीच समन्वय आवश्यक रहेको बताए। त्यस्तै, गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले जडीबुटीको संकलन र उपयोगका लागि मन्त्रालयबाट आवश्यक सहजीकरण हुने बताए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले पनि कानुनी स्पष्टताको आवश्यकता औंल्याए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउन किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’मा जानुपर्ने र कम्पनीहरूसँग सहकार्य गर्नुपर्ने बताए। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी) ले कच्चा पदार्थको मूल्य समर्थन निर्धारण गरे संकलनमा सहज हुने उल्लेख गरे।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनबाट सालको पात टिपेर दुनाटपरी बनाउन पनि नमिल्ने अवस्था रहेकाले कानुनमा सुधार गर्नुपर्ने बताए। वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले जडीबुटीको उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत कानुन परिमार्जन गर्नुपर्ने बताए।

छलफलका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि आवश्यक सुझाव पेस गरेका थिए।

Leave A Reply

Your email address will not be published.