काठमाडौँ :
राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो कथानक चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै बिहीबार काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरेको छ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको सभापतिगत्वमा सम्पन्न सो कार्यक्रममा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरी खादा, माला तथा दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो। संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा तीनैजना अग्रज कलाकार र सभापति उत्तम केसीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्षका रूपमा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकाको विमोचन गरियो। उक्त पत्रिकामा नेपाली चलचित्रका गीत तथा गीत-संगीतसँग सम्बन्धित विषयवस्तुहरू समेटिएका छन्। सो अवसरमा सम्पादक विमल भौकाजीलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ कलाकार लय संग्रौला, संघका निवर्तमान अध्यक्ष मोहन निरौला, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, लव प्याकुरेल लगायतका वक्ताहरूले सीमित स्रोतसाधनका बाबजुद पहिलो पुस्ताका कलाकार तथा प्राविधिकहरूले पुर्याएको योगदानको चर्चा गर्नुभयो। सम्मानित नायिका वसुन्धरा भुसालले प्रारम्भिक समयका संघर्ष र अनुभव साट्नुभएको थियो भने अध्यक्ष उत्तम केसीले इतिहासको संरक्षण र अग्रजको सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा मनोज आचार्य, पुजना प्रधान गुरुङ, जीवन थापा, दीपेन्द्र तिमिल्सिना, देवेन्द्र पाण्डे लगायत चलचित्र क्षेत्रका विभिन्न कलाकार, निर्माता तथा निर्देशकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ सन् १९६४ अक्टोबर ७ (असोज १५ गते) प्रदर्शनमा आएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइँदै आइएको छ।