सुचना, समाचार र मनोरन्जन

‘चंगुल’को प्रिमियर सम्पन्न: जेन्जी आन्दोलनका घाइतेहरू सम्मानित, नाफाको केही हिस्सा बाढीपीडित र घाइतेलाई दिइने

काठमाडौँ :

असोज १६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगुल’को विशेष प्रिमियर शो बुधबार राजधानीस्थित ल्होत्से मलमा रहेको INI सिनेमाजमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रिमियर शोमा चलचित्रका कलाकार तथा सिनेमा जगतका विशिष्ट व्यक्तित्वहरूसँगै ‘घाइते जेन्जी नेपाल’ संस्थाका अध्यक्ष बादल राई लगायत घाइते जेन्जीहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा चलचित्रको निर्माण टिमले घाइते जेन्जीहरूलाई विशेष सम्मान समेत प्रदान गरेको छ।

Chaka Panja

चलचित्र हेरिसकेपछि दर्शक तथा अतिथिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। समसामयिक राजनीति र त्यसले समाजमा पारेको प्रभावलाई मुख्य विषय बनाएको यस चलचित्रले गत वर्ष भएको जेन्जी आन्दोलनको कथालाई पनि प्रमुखताका साथ उठाएको छ। प्रिमियरमा सहभागी घाइते जेन्जीहरूले चलचित्रले आफूहरूलाई एक वर्षअघिको आन्दोलनका दिनहरू झलझली सम्झाएको बताएका छन्।

मालती कार्कीको निर्माण र राम गौतमको निर्देशनमा तयार भएको यस चलचित्रमा रवि कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुङ्गाना र बालकलाकार रिम्शा कार्की लगायतको अभिनय रहेको छ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ भने द्वन्द्व निर्देशन देव महर्जन र छायाङ्कन तथा सम्पादन दीपेन बस्न्यातको छ। सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै चलचित्रबाट हुने नाफाको केही हिस्सा ‘घाइते जेन्जी नेपाल’ संस्थालाई हस्तान्तरण गरिने र बाँकी केही रकम बाढीपीडितको सहयोगार्थ छुट्याइने निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.