काठमाडौँ :
साहित्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत(संगीत पुरस्कार(२०८३’ प्रदान गरिने भएको छ। टीका गोपाल प्रतिष्ठानकी अध्यक्ष गीता सिंहको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका सल्लाहकार सन्तोष श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थितिमा भएको बैठकले यही साता काठमाडौँमा विशेष समारोह आयोजना गरी दाहाललाई सम्मान गर्ने जनाएको छ। यसअघि उक्त पुरस्कार संगीतकार सन्तोष श्रेष्ठ र गीतकार डिआर उपाध्यायलाई प्रदान गरिएको थियो। नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा यो पुरस्कार स्थापना गरेका हुन्।
दाहालका सिर्जनामा जीवनका अनुभूतिसँगै समाजका आरोह(अवरोह, सांस्कृतिक चेतना, दार्शनिक प्रश्न र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन्। उहाँका ‘श्रद्धाञ्जलि’ (कवितासंग्रह), ‘रश्मी’ (खण्डकाव्य), ‘योद्धा’ (काव्य), ‘हावर्डको चौतारीमा’ (कवितासंग्रह), ‘श्वेतपत्र’ (महाकाव्य), ‘म त बन्दी भएको छु’ (कवितासंग्रह), ‘यात्राको सिँढी’(नियात्रा), ‘अहोरात्र’(उपन्यास) तथा ‘सिर्जनामा दृष्टि’ (भूमिकालेखन संग्रह) प्रकाशित छन्।
उनले साहित्यिक व्यक्तित्व र सिर्जनामाथि विभिन्न अध्ययन तथा समालोचनात्मक कृतिसमेत लेखका छन्। उनका काव्यिक भाव र चेतनालाई संगीतसँग जोडेर तयार पारिएको गीति एल्बम ‘जागृति’ श्रोता तथा दर्शकमाझ आइसकेको छ। ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीत समेटिएको उक्त एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत समावेश छन्। एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ। त्यसैगरी, ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकले स्वर दिएका छन्।