सुचना, समाचार र मनोरन्जन

‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना

काठमाडौं :

चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा सिनेमाका मुख्य दुई पात्र फिचर्ड छन्।विजय बराल र अञ्जना बराइली रहेको पोस्टरमा दुबै रोइरहेका छन् । विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन्। विजयका आँखामा पनि आसु छ।

गाउँले परिवेशको जनजीवनमा रहेका पात्र कुनै मेला वा महोत्सवमा गएको पोस्टरबाट अनुमान लगाउन सकिन्छ। धोएर सफा पारिएका लुगा लगाएर चिटिक्क परेको जोडी छ। बुलाकी, नौगेडी र माडवारी लगाएकी अञ्जनाको पहिरनले उनी मध्यमवर्गीय परिवारकी छोरी/बुहारी रहेको देखाउँछ।पृष्ठभूमिमा देखिएको मन्दिर र त्यसमा लागेको भीडले जात्रामा सहभागी हुने गएको जोडी कुनै समस्यामा फसेको जस्तो देखिन्छ। बिग्रिएको अञ्जनाको कपालले उनीमाथि जबरजस्तको प्रयास भएको अनुमान लगाउन सकिन्छ।

Pach Pandav

सिनेमाको शीर्षक अनुसारको पोस्टरको कलरले सिनेमाको मुड बताउने प्रयास गरेको छ। ‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन्। यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन्। उनीहरुको यो दोस्रो सहकार्य हो। यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का,अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। सह-निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन्।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन्। यस चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ। विग मुभिज थिएटर पार्टनरका रूपमा रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।

Leave A Reply

Your email address will not be published.