काठमाडौं :
शुक्रबार (आज)बाट फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ। यो फिल्म देशैभरबाट प्रदर्शनमा आएको हो। सन्तोषजनक शोसहित आजबाट दर्शकमाझ आएको हो । यस बारेमा निर्देशकले आफ्नो भनाई राखेका छन्। निर्देशक बसन्त निरौला भन्छन्,“हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ। तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरुले शो थप्दै जानेमा हामी पूर्ण रुपमा ढुक्क छौँ।”

यस फिल्ममा हरिवंश आचार्य,महेश त्रिपाठी,जितु नेपाल,विनोद न्यौपाने,आर्यन सिक्देल,सुशील सिटौला, इभा गिरी,दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल लगायतको पनि मुख्य भूमिका छ। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। निर्मातामा काली रानी श्रेष्ठ छिन्।
सुशील पौडेलको ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद रहेको छ। फिल्म डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गरेको छ।