पोखरा,
नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा ‘मौलिक देउसीभैलो उत्सव २०८३’ आयोजना हुने भएको छ।
पोखरा महानगरपालिकाको आर्थिक महाशाखा, पोखरा पर्यटन परिषद् र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा कात्तिक २३ गते सोमबार गाईपूजाको दिन पोखरा–६ स्थित गौरीघाट पार्कमा उत्सव सञ्चालन हुनेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने कार्यक्रममा विभिन्न देउसीभैलो टोलीले मौलिक सांस्कृतिक प्रस्तुति दिनेछन्।
उत्सवको उद्देश्य हराउँदै गएको मौलिक देउसीभैलो संस्कृतिको संरक्षण, नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व र संस्कृतिबारे जानकारी गराउनु रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले जानकारी दिए।

पोखरा महानगरपालिकाका आर्थिक शाखा प्रमुख मनहरी कडरियाले पुरानो संस्कृतिको उजागर गर्दै हराउँदै गएको मौलिकपनलाई पुनः जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए। नेपाली चाडपर्वलाई महानगरको वार्षिक क्यालेण्डरमै समावेश गरी हरेक वर्ष नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।
कार्यक्रममा सहभागी हुने प्रत्येक देउसीभैलो टोलीमा बढीमा २० जना सहभागी हुन सक्नेछन्। टोलीले मौलिकता, सिर्जनात्मकता, तिहारको महत्त्व र संस्कृति संरक्षणसम्बन्धी विषय समेटेर अधिकतम १७ मिनेटको प्रस्तुति दिनुपर्ने कार्यक्रम संयोजक मोहन क्षेत्रीले जानकारी दिए।
सहभागी सबै समूहलाई चामल, फलफूल, सेलरोटी, पाँच हजार पाँच सय ५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट एक समूहलाई ‘देउसीभैलो च्याम्पियन’ घोषणा गरी २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। कार्यक्रममा सेलरोटी र सयपत्री फूलका छुट्टाछुट्टै दुई स्टलसमेत राखिनेछन्।
गाईपूजाको दिन आयोजना हुने भएकाले कार्यक्रममा दिनभर गाईपूजाको व्यवस्था पनि मिलाइने आयोजकले जनाएको छ। करिब पाँच लाख रुपैयाँ खर्च अनुमान गरिएको उत्सवले तिहारलाई मानव र जीवजन्तुबीचको प्रेम, शक्ति, प्रकाश, फूल र संगीतको साझा उत्सवका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।