सुचना, समाचार र मनोरन्जन

आरयू फेस्टको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा, फोहोरबाट उद्यम र रोजगारी सिर्जनामा जोड

पोखरा,

फोहोरलाई समस्या मात्र नभई सम्भावना र आर्थिक अवसरका रूपमा उपयोग गर्ने उद्देश्यसहित पोखरामा आयोजना हुन लागेको दोस्रो संस्करणको आरयू फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिकाको आयोजनामा मंसिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा ‘आरयू फेस्ट–रि–थिङ्क २०२६’ आयोजना हुन लागेको हो।

महोत्सवको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोरलाई नयाँ दृष्टिकोणबाट हेर्न, त्यसको मूल्य पहिचान गर्न र पोखराको भविष्यलाई चक्रीय अर्थतन्त्रमा आधारित बनाउन महोत्सव आयोजना गरिएको बताए।

‘फोहोरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशका साथ आयोजना हुन लागेको महोत्सवले रिसाइक्लिङ र अपसाइक्लिङको अवधारणालाई व्यवहारमा उतार्न प्रेरित गर्ने उनको भनाइ छ।

महोत्सवको मुख्य उद्देश्य रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यमी, युवा नवप्रवर्तक, विद्यार्थी, समुदाय, निजी क्षेत्र र आम नागरिकलाई एउटै थलोमा ल्याएर फालिएका तथा प्रयोग भइसकेका सामग्रीलाई वातावरणमैत्री र उपयोगी उत्पादनमा रूपान्तरण गर्ने सम्भावना उजागर गर्नु रहेको छ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले फोहोरको पुनःप्रयोग र पुनःप्रशोधनबाट उपयोगी सामग्री उत्पादन गर्न सकिने र यसले सहरको फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए। फोहोरलाई स्रोतका रूपमा उपयोग गर्न सके पोखरालाई सफा, सुन्दर र वातावरणमैत्री सहर बनाउन सकिने उनको भनाइ छ।

उनका अनुसार आरयू फेस्टले विद्यार्थीमा सिर्जनशीलता र नयाँ कुरा सिक्ने रुचि बढाउनुका साथै महिलाका लागि रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्न पनि सहयोग पुर्‍याउनेछ। फोहोरबाट नयाँ उत्पादन बनाउने सीप र प्रविधिको प्रवर्द्धनले स्थानीयस्तरमै आयआर्जनका सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ।

Pach Pandav

महोत्सवमा फोहोरबाट तयार गरिएका विभिन्न सामग्री, पुनःप्रयोग तथा पुनःप्रशोधनसम्बन्धी सिर्जनात्मक उत्पादन, नयाँ प्रविधि र उद्यमशीलताका अभ्यास प्रदर्शन गरिनेछ। विद्यार्थी, युवा तथा नवप्रवर्तकलाई आफ्नो सिर्जना र नवीन सोच प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको प्राविधिक सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरिरहेको ‘ग्रिन जब क्रिएसन थ्रु रिसाइक्लिङ एन्ड अपसाइक्लिङ इन पोखरा’ परियोजनाअन्तर्गत महोत्सव आयोजना हुन लागेको हो। परियोजनाले फोहोर व्यवस्थापनलाई दिगो बनाउँदै रिसाइक्लिङ तथा अपसाइक्लिङमा आधारित हरित रोजगारी र उद्यमशीलता विकासमा जोड दिँदै आएको छ।

यसपटकको महोत्सवको अर्को आकर्षण १४ फिट अग्लो विशाल टेडी बियर ‘रुरु’ पनि हुनेछ। फालिएका कपडा तथा प्रयोग भइसकेका सामग्रीबाट म्युज नेपालले निर्माण गरेको रुरु बाँसको भित्री संरचनामा तयार गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भाटभटेनी, रानीपौवा र गौरिघाट पार्कलगायत सार्वजनिक स्थलमा प्रदर्शन गरिएको रुरुलाई महोत्सवका दुवै दिन पोखरा इभेन्ट सेन्टरमा राखिनेछ। महोत्सवपछि भने यसलाई जीसीआरयू परियोजनाको भवनमा राखिनेछ।

फोहोरलाई नयाँ स्वरूप र उपयोगिता दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न तयार गरिएको रुरुले सिर्जनशीलता र वातावरण संरक्षणबीचको सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गर्नेछ।

सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको आरयू फेस्टमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका थिए। पहिलो संस्करणबाट प्राप्त उत्साह र सहभागितालाई निरन्तरता दिँदै दोस्रो संस्करणलाई थप प्रभावकारी बनाउने आयोजकको लक्ष्य छ।

महोत्सवले फोहोर व्यवस्थापनलाई महानगरपालिकाको जिम्मेवारीमा मात्र सीमित नराखी नागरिकको व्यवहार, उद्यमशीलता र आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ। फालिएका सामग्रीलाई स्रोतका रूपमा उपयोग गर्दै उत्पादन, रोजगारी र वातावरण संरक्षणलाई एकैसाथ अघि बढाउने चक्रीय अर्थतन्त्रको अवधारणा स्थापित गर्नु आरयू फेस्टको मुख्य उद्देश्य रहेको छ।

Leave A Reply

Your email address will not be published.