सुचना, समाचार र मनोरन्जन

घाउमा मलम, जीवनमा उज्यालो : हरियो खर्कको ७४ वर्षे महायात्रा

सुरेश रानाभाट,

उपचार भनेको शरीरको घाउ सुकाउनु मात्र होइन, भाँचिएको आत्मविश्वास जोड्नु र गुमेको जीवन फर्काउनु हो । पोखराको सानो औषधालयबाट सुरु भएको इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) नेपाल र हरियो खर्क अस्पतालको ७४ वर्षे यात्राले आज नेपालका ७७ वटै जिल्लाका असहाय र सीमान्तकृत नागरिकलाई नयाँ जीवन दिइरहेको छ।

माछापुच्छ्रेको चिसो सिरेटो बिहानै पोखराको आँगनमा ओर्लिन्छ। सेती नदीको सुसेलीसँगै पोखरा महानगरपालिका वडा नम्बर १५, नयाँगाउँको एउटा शान्त परिसर ब्युँझिन्छ।हरिया रुखबिरुवाको छहारीमुनि फैलिएको यो ठाउँ हो हरियो खर्क अस्पताल तथा पुनःस्थापना केन्द्र।

बाहिरबाट हेर्दा भने यो केवल इँटा, ढुङ्गा र सिमेन्टले बनेको एउटा अस्पताल जस्तो लाग्न सक्छ। तर भित्र पस्दै जाँदा महसुस हुन्छ, यो त दुःखबिमारले थलिएका हजारौँ नेपालीको थकाइ मार्ने चौतारी हो । समाजले तिरस्कार गरेका कुष्ठरोगीको आँसु पुछ्ने न्यानो काख हो। हिँड्न नसकेर ओछ्यानमै थला परेका बालबालिकालाई फेरि आफ्नै खुट्टामा उभ्याउने आशाको मन्दिर हो।

वि.सं. २००९ साल (सन् १९५२) मा पोखराको सानो क्लिनिकबाट सुरु भएको इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) नेपालले आज आफ्नो स्थापनाको ७४औँ वार्षिकोत्सव मनाउँदै छ। “प्रेम र सेवाको जीवन्त विरासत” भन्ने मूल नाराका साथ संस्थाले सात दशकभन्दा लामो करुणा र समर्पणको इतिहासलाई स्मरण गरिरहेको छ। यो यात्रा केवल एउटा गैरसरकारी संस्थाको आयु मात्र होइन। यो त पश्चिम नेपालका दुर्गम पाखापखेरा, भित्तापाखा र विकट बस्तीमा छरिएको उज्यालोको कथा हो।

पचहत्तर वर्षअघिको त्यो बिहानी : जग र जराको कथा

इतिहासका पाना पल्टाउँदा वि.सं. २००९ सालको पोखरा आजको जस्तो झिलिमिली थिएन। बाटोघाटोको सुविधा थिएन। बिरामी पर्दा ओखतीमूलो गर्ने आधुनिक अस्पतालको कल्पनासमेत दुर्लभ थियो।गाउँघरमा कुष्ठरोग लाग्नुलाई पूर्वजन्मको पाप ठानिन्थ्यो।बिरामीलाई घरपरिवार र छरछिमेकबाट लखेटेर ओडार वा जङ्गलको छेउमा एक्लै छाडिन्थ्यो।

ठीक त्यही कहालीलाग्दो समयमा, वि.सं. २००९ सालमा डा. लिली ओ ह्यान्लन, हिल्डा स्टिल लगायतका विदेशी स्वयंसेवक र केही मनकारी नेपालीहरू पोखराको माटोमा आइपुगे।उनीहरूसँग ठूला भवन वा आधुनिक उपकरण थिएनन्। थियो त केवल मानवसेवाको अटल सङ्कल्प र करुणा भरिएको मुटु। प्रवेश गरेको केही महिनापछि उनीहरूले पोखराको रामघाटमा एउटा सानो स्वास्थ्य क्लिनिक स्थापना गरे। यही सानो औषधालय नै आइएनएफ नेपालको जग र जरा बन्न पुग्यो।

बिरामीको लर्को बढ्दै गयो । सानो क्लिनिकले मात्र पीरमर्का थेग्न सकेन । त्यसपछि वि.सं. २०१० सालमा पोखराको सिमपानी बगरमा साइनिङ अस्पताल स्थापना भयो। यो अस्पताल नेपालको सम्पूर्ण पश्चिम क्षेत्रकै पहिलो आधुनिक अस्पताल थियो। बिरामीलाई ओत दिन वि.सं. २०११ सालमा भर्खरै स्थापना भएको रोयल नेपाल वायुसेवाको जहाजमार्फत दुईवटा प्रि-फेब्रिकेटेड आल्मुनियम क्वोनसेट अर्थात् टहराहरू पोखरा ल्याइयो। टिनको छानोमुनि बसेर चिकित्सक र नर्सहरूले दिनरात बिरामीको घाउ सफा गरे ।

वि.सं. २०१२ सालमा आइलिन लज र बेटी बेलीले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूको सेवामा आफूलाई समर्पित गरे। समाजले छुनसमेत घिन मान्ने बिरामीको पीडामा उनीहरूले मलम लगाए। त्यसैको निरन्तरतास्वरूप वि.सं. २०१४ साल (सन् १९५७) मा पोखराको नयाँगाउँमा हरियो खर्क कुष्ठरोग विशेषज्ञ अस्पताल को स्थापना भयो। सुरुमा २३ शय्याको संरचनाबाट सुरु भएको हरियो खर्कले नामजस्तै बिरामीको उजाड जीवनमा हरियाली भर्न थाल्यो।

सात दशकका सुनौला कोशेढुङ्गा : विरही बस्तीदेखि वैश्विक सम्मानसम्म

हरियो खर्क अस्पताल र आइएनएफ नेपालको ७४ वर्षे इतिहासमा अनेकौँ सुनौला कोशेढुङ्गाहरू कोरिएका छन्। संस्थाले आफूलाई पोखराको खाल्डोमा मात्र सीमित राखेन । पैदल हिँडेरै उकाली-ओराली काट्दै दुर्गम गाउँबस्तीमा स्वास्थ्य सेवा पुर्‍यायो।

  • गाउँ क्लिनिक र शिक्षाको ज्योति : वि.सं. २०१८ सालमा बागलुङमा गाउँ क्लिनिक खुल्यो। वि.सं. २०२३ सालमा म्याग्दीको दुर्गम शिखा गाउँमा क्लिनिक स्थापना भयो भने सोही वर्ष शैक्षिक विकासका लागि नेपाली आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ स्कुल) को जग बस्यो। वि.सं. २०२७ सालमा म्याग्दीको बेनीमा गाउँ क्लिनिक र पोखराको तेर्सापट्टीमा स्वास्थ्य सेवा विस्तार भयो।
  • क्षयरोग र कुष्ठरोग विरुद्धको महाअभियान : वि.सं. २०२८ सालमा कास्कीमा पहिलो पटक क्षयरोग कार्यक्रम सुरु भयो। वि.सं. २०३० सालमा राप्ती, धवलागिरि र कर्णाली क्षेत्रलाई समेट्ने गरी दाङको घोराहीमा क्लिनिक स्थापना गरियो। आइएनएफको निस्वार्थ काम देखेर वि.सं. २०३१ सालमा नेपाल सरकारले राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत सम्पूर्ण पश्चिम क्षेत्रको जिम्मेवारी आइएनएफलाई सुम्पियो। वि.सं. २०३९ सालमा कुष्ठरोग उपचारका लागि बहुऔषधि उपचार विधि (एमडिटी) सुरु भएपछि रोग निको हुने दरमा क्रान्ति आयो।
  • सरकारी स्वास्थ्य संरचनामा भरथेग : आइएनएफले समानान्तर संस्था चलाउने होइन, राज्यको स्वास्थ्य प्रणालीलाई बलियो बनाउने नीति लियो। वि.सं. २०३२ सालमा हरियो खर्क अस्पतालमा नर्सिङ तालिम सुरु भयो। वि.सं. २०३३ सालमा गण्डकी अञ्चल अस्पताल स्थापना गर्न र वि.सं. २०४१ सालमा त्यसमा १५० शय्या थपेर प्रयोगशाला तथा फार्मेसी सञ्चालन गर्न आइएनएफले महत्त्वपूर्ण योगदान दियो। वि.सं. २०४२ सालमा पोखरामा नर्सिङ क्याम्पस स्थापना गर्न र वि.सं. २०४४ सालमा गण्डकी अञ्चल अस्पताललाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा विस्तार गर्न संस्थाले काँधमा काँध मिलायो।
  • पुनःस्थापना र कृत्रिम अङ्गको वरदान : वि.सं. २०३४ सालमा हरियो खर्क र सुर्खेतमा सामाजिक-आर्थिक पुनःस्थापना कार्यक्रम थालियो। वि.सं. २०४५ सालमा हरियो खर्क अस्पतालमा कृत्रिम अङ्ग उत्पादन केन्द्र स्थापना भयो। वि.सं. २०५४ सालमा कुष्ठरोगबाहेक अन्य कारणले अपाङ्गता भएका नागरिकका लागि पनि पुनःस्थापना सेवा खुला गरियो।
  • नेपालीकरण र कानुनी पहिचान : वि.सं. २०४८ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा आइएनएफ नेपाल विधिवत् रूपमा गैरसरकारी संस्थाका रूपमा दर्ता भयो। वि.सं. २०५९ सालमा स्वर्ण महोत्सव मनाएपछि वि.सं. २०६० सालदेखि संस्थाको नेतृत्व र संरचनामा ‘नेपालीकरण’ को प्रक्रिया सुरु भयो। आज नेपाली नेतृत्वकै काँधमा संस्थाको बागडोर सुरक्षित छ।
  • आधुनिक विस्तार र अन्तर्राष्ट्रिय पुरस्कार : वि.सं. २०७२ सालमा हरियो खर्क परिसरमै कान केन्द्र स्थापना भयो। वि.सं. २०७८ सालमा प्रशामक तथा दीर्घरोग सेवा भवन निर्माण भएसँगै हरियो खर्क अस्पताल १०० शय्याको विशेषज्ञ अस्पतालका रूपमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दर्ता भयो। वि.सं. २०७९ सालमा अस्ट्रेलियाली सरकारको सहयोगमा अस्पतालमै अक्सिजन प्लान्ट जडान भयो। वि.सं. २०८० सालमा समर्पित कुष्ठरोग वार्ड ‘आइलिन एन्ड बेटी सेन्टर’ को उद्घाटन गरियो। उत्कृष्ट सेवाबापत संस्थाले वि.सं. २०५७ मा नेपाल सरकारबाट ‘दीक्षा दक्ष पुरस्कार’, वि.सं. २०६८ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रतिष्ठित ‘कोचोन पुरस्कार’ र वि.सं. २०८० मा अन्तर्राष्ट्रिय ‘एल्स क्रोनर फ्रेसेनियस पुरस्कार’ प्राप्त गरिसकेको छ।

हरियो खर्कको भित्री संसार : २४ सै घण्टा जाग्ने करुणाको मन्दिर

हरियो खर्क अस्पतालको परिसरभित्र पस्दा बिरामीको पीडा आधा उसै कम भएझैँ लाग्छ।सफासुग्घर बगैँचा, अपाङ्गमैत्री फराकिला बाटा र मुस्कानसहित स्वागत गर्ने स्वास्थ्यकर्मी यहाँको परिचय हो। अस्पतालका सूचना अधिकारी एकनाथ देवकोटाले सञ्चारकर्मीहरूलाई अस्पतालका विभिन्न विभाग अवलोकन गराउँदै यहाँको सेवा प्रवाहबारे विस्तृत जानकारी दिए।

अस्पतालको शल्यक्रिया कक्ष, फिजियोथेरापी एकाइ, कृत्रिम अङ्ग निर्माण कार्यशाला, कान केन्द्र र सघन उपचार कक्ष (आइसियु) घुम्दा यो कुनै नाफामूलक निजी अस्पतालभन्दा कम देखिँदैन।तर यसको आत्मा भने विशुद्ध सेवा भावले भरिएको छ।सूचना अधिकारी देवकोटाले विभागहरू देखाउँदै अस्पतालको विशेषता प्रस्ट पारे ।

“हरियो खर्क अस्पताल १०० शय्याको अपाङ्गता विशेष अस्पताल हो । यहाँ २४ सै घण्टा आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध छ।जटिल बिरामीको जीवन रक्षाका लागि हामीले ५ शय्याको आधुनिक आइसियु सेवा पनि सञ्चालनमा ल्याएका छौँ।आज पोखरामा मात्र होइन, नेपालका ७७ वटै जिल्लाका नागरिक यहाँ उपचार र पुनःस्थापनाका लागि आइपुग्छन्।”

आइएनफ नेपाल हरियो खर्क अस्पतालका व्यवसायिक विकास प्रमुख सौरभ शर्माले अस्पतालको प्राविधिक क्षमता र उपचार पद्धतिबारे प्रकाश पारे । उनका अनुसार यहाँ बिरामीको रोग मात्र जाँचिँदैन, बिरामीको समग्र जीवनशैलीको मूल्याङ्कन गरिन्छ। शर्माले अस्पतालको विशिष्टताबारे बताए ।

“हामीकहाँ आउने धेरैजसो बिरामी मेरुदण्डको चोट, मस्तिष्क पक्षघात, कुष्ठरोगको जटिलता, हाडजोर्नी तथा नसाको समस्या र दुर्घटनामा अङ्ग गुमाएका व्यक्तिहरू हुन्छन्। उनीहरूलाई एउटै छानामुनि चिकित्सकीय उपचार, शल्यक्रिया, फिजियोथेरापी, अकुपेसनल थेरापी, स्पिच थेरापी र कृत्रिम अङ्ग प्रत्यारोपणको सेवा दिइन्छ। बिरामीलाई आत्मनिर्भर बनाएर समाजमा फर्काउनु नै हाम्रो मुख्य ध्येय हो।”

स्वास्थ्य सेवा निर्देशक एवं वरिष्ठ सर्जन डा. अरुण बुढाले अस्पतालको सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि, असल अभ्यास र आगामी दिनको मार्गचित्रबारे गहन विचार राखे । शल्यक्रिया कक्षदेखि बिरामीको शय्यासम्म पुग्दा बिरामीको अनुहारमा देखिने सन्तुष्टि नै आफ्नो टिमको वास्तविक कमाइ भएको उनले बताए । डा. बुढाले भने ।

“हामी नाफारहित सेवा भावमा आधारित रहेर काम गर्छौँ। वार्षिक करिब २६ करोड रुपैयाँको बजेट परिचालन गर्दै हामीले स्रोत व्यवस्थापनलाई अत्यन्तै चुस्तदुरुस्त राखेका छौँ । गरिब र विपन्न नागरिक पैसाकै अभावमा उपचारबाट वञ्चित नहोऊन् भनेर हामीले विशेष च्यारिटी कोष परिचालन गरेका छौँ। आगामी दिनमा स्थानीय सरकार, प्रदेश सरकार र आम नागरिकसँग अझ नजिकबाट हातेमालो गर्दै गुणस्तरीय स्वास्थ्य सेवालाई विस्तार गर्ने हाम्रो योजना छ।”

तथ्याङ्कले पनि डा. बुढाको भनाइलाई पुष्टि गर्छ । आर्थिक वर्ष २०८२/८३ मा मात्र हरियो खर्क अस्पतालको बहिरङ्ग (ओपिडी) विभागबाट ९०,०६७ जनाले विशेषज्ञ परामर्श लिएका छन्। १,४१३ जना बिरामी भर्ना भएर उपचार गराएका छन् भने १,३०४ वटा साना तथा ठूला शल्यक्रिया सम्पन्न भएका छन्। यसै अवधिमा २८,६३९ पटक थेरापी सेसन, २,०६४ कृत्रिम अङ्ग तथा सहायक सामग्री (प्रोस्थेटिक एन्ड अर्थोटिक) सेवा, ५२,१७५ प्रयोगशाला परीक्षण र ७,८२३ रेडियोलोजी सेवा प्रदान गरिएको छ। अस्पताल परिसरमै रहेको १६ शय्याको कान केन्द्रबाट मात्र २४,१७० जनाले बहिरङ्ग र ४५३ जनाले अन्तरङ्ग सेवा लिएका छन्। साथै, आर्थिक अवस्था कमजोर भएका २,३७० जना बिरामीले हरियो खर्कबाट निःशुल्क तथा च्यारिटी सहयोग प्राप्त गरेका छन्।

आँकडाभित्र लुकेका आँसु र मुस्कान : जीवन फर्किएका जीवन्त कथाहरू

Pach Pandav

अस्पतालको ढड्डामा लेखिने अङ्कहरू केवल गणित होइनन्। हरेक अङ्कभित्र एउटा जिउँदो मान्छेको पीडा, सङ्घर्ष र पुनर्जन्मको कथा लुकेको हुन्छ। रोल्पाका ८ वर्षीय बालक देव (नाम परिवर्तन) को कथा सुन्यौ भने तिम्रो मन भक्कानिन्छ। पाँच महिनाको दुधे बालक छँदै भएको एउटा भयानक दुर्घटनामा देवले आफ्ना दुवै खुट्टा गुमाए। उमेर बढ्दै गयो, साथीभाइ दौडिएर स्कुल जान थाले, तर देव आँगनको डिलमै सीमित भए। आइएनएफको सामुदायिक सहजकर्ताको सिफारिसमा उनलाई पोखराको हरियो खर्क अस्पताल ल्याइयो। यहाँको कृत्रिम अङ्ग निर्माण टोलीले देवको उमेर र शारीरिक बनोट सुहाउँदो दुवै खुट्टाका कृत्रिम अङ्ग तयार पारिदियो। फिजियोथेरापिस्ट, अकुपेसनल थेरापिस्ट, चिकित्सक र मनोसामाजिक परामर्शदाताको सामूहिक मिहिनेतपछि देवले पहिलो पाइला चाले। आज उनी सन्तुलन मिलाएर हिँड्छन् र आत्मविश्वासका साथ हाँस्छन्। हरियो खर्कका प्राविधिक भन्छन् “पुनःस्थापना भनेको हिँडाउनु मात्र होइन, गुमेको आत्मविश्वास फर्काउनु र जीवनको उद्देश्य भेटाउन मद्दत गर्नु हो।”

त्यस्तै अर्को हृदयविदारक कथा लमजुङ बेँसीसहर २ का जीवन (नाम परिवर्तन) को हो। वि.सं. २०८३ असार (जुन २०२६) मा नियमित सम्पर्क परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरू जीवनको घरमा पुग्दा उनी मृत्युको मुखमा पुगिसकेका थिए। कुष्ठरोगका कारण परिवारले उनलाई एउटा अँध्यारो कोठामा एक्लै थुनेर राखेको थियो। दाहिने खुट्टाको गहिरो घाउमा किरा परिसकेको थियो। १५ दिनदेखि उनले अन्नको दाना मुखमा हालेका थिएनन्। परिवारले ओखतीको नाममा घाउमा कोइला दलिदिएका थिए।

त्यही दिन एम्बुलेन्समार्फत जीवनलाई हरियो खर्क अस्पताल पुर्‍याइयो। अस्पतालको आवासीय उपचार, शल्यक्रिया, पोषणयुक्त खाना र नर्सहरूको आमाको जस्तो स्याहारसुसारले जीवनले नयाँ जुनी पाए। छोरा बाँच्ने आस मारिसकेका बाबुको अनुहारमा खुसी फर्कियो।जीवनले मुस्कुराउँदै भने “यहाँ आएर मैले उपचार पाएँ । यहाँको खाना राम्रो छ।नर्स दिदीहरूले एकदमै माया र हेरचाह गर्नुहुन्छ।”

रुकुमकी १३ वर्षीया किशोरी सीता (नाम परिवर्तन) को व्यथा पनि कम मार्मिक थिएन। सानो चोटबाट सुरु भएको हड्डीको सङ्क्रमण (क्रोनिक ओस्टियोमाइलाइटिस) ले उनको खुट्टा सुन्निएर पाक्न थाल्यो। घरबाट स्कुल पुग्न चार घण्टाको उकाली-ओराली हिँड्नुपर्थ्यो। खुट्टाको पीडा र घाउको दुर्गन्धका कारण साथीभाइले हेला गर्लान् भन्ने डरले उनी विद्यालय जान छाडिन्। गरिब बाबुआमासँग पोखरा ल्याएर उपचार गर्ने सुको पैसा थिएन। तर हरियो खर्क अस्पतालको ‘मेडिकल च्यारिटी कोष’ ले सीताको शल्यक्रिया, अस्पताल बसाइ, खाना र रुकुम-पोखरा आवतजावतको सम्पूर्ण खर्च व्यहोरिदियो। शल्यक्रियापछि निको भएर सीता फेरि झोला बोकेर विद्यालय जान थालेकी छिन्। सीताकी आमाले गहभरि आँसु पार्दै भनिन् “यात्रा लामो र कठिन थियो, तर छोरी निको हुन्छे भन्ने आस बोकेर हरियो खर्क आयौँ, यहाँ हाम्रो सपना पूरा भयो।”

अस्पतालको चौघेरा नाघेर गाउँबस्तीको आँगनसम्म : सामुदायिक विकासको लय

आइएनएफ नेपालले बुझेको एउटा गहिरो सत्य के हो भने— जबसम्म गाउँबस्तीमा गरिबी, अन्धविश्वास र पछौटेपन रहन्छ, तबसम्म अस्पतालका शय्याहरू भरिइरहन्छन् । त्यसैले संस्थाले अस्पतालको चौघेरा नाघेर समुदायको आँगनमै पुग्ने अभियान चलायो।

वि.सं. २०४३ साल (सन् १९८६) मा बागलुङको विकट बस्ती बुर्तिबाङबाट सामुदायिक स्वास्थ्य तथा विकास कार्यक्रमको सुरुवात भयो। आज नेपाल सरकारको समाज कल्याण परिषद् र आइएनएफ इन्टरनेसनलसँगको त्रिपक्षीय सम्झौताअन्तर्गत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरूमा स्वास्थ्य र विकासका कार्यक्रम चलिरहेका छन्।

हरियो खर्क पोखरासँगै बाँकेको जानकी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगरमा रहेका २५–२५ शय्याका दुई साइनिङ अस्पताल ले पश्चिम नेपाल र सीमावर्ती भारतीय नागरिकलाई समेत куष्ठरोग, छालारोग र अपाङ्गता पुनःस्थापनाको सेवा दिइरहेका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आइएनएफले वि.सं. २०७५ मा स्थापना गरी वि.सं. २०८१ मा सरकारलाई हस्तान्तरण गरेको १७ शय्याको फिस्टुला उपचार केन्द्र ले वर्षौँदेखि पिसाब चुहिने समस्या लुकाएर बसेका आमादिदीबहिनीको मुहारमा मुस्कान फर्काएको छ। अछामकी ६६ वर्षीया पवित्रा ले ३० वर्षसम्म फिस्टुलाको पीडा सहेर बिताएकी थिइन्। महिला स्वास्थ्य स्वयंसेविकाको पहलमा सुर्खेतको फिस्टुला केन्द्रमा निःशुल्क शल्यक्रिया भएपछि तीन दशक लामो नारकीय जीवनबाट उनले मुक्ति पाइन्।

सामुदायिक विकासतर्फ बाँके, सुर्खेत, बाजुरा, मुगु, जुम्ला, कालिकोट, दाङ, रोल्पा, कपिलवस्तु र जाजरकोट गरी १० जिल्लामा संस्थाले जनतालाई आफ्नै खुट्टामा उभिन सिकाइरहेको छ। संस्थाले बाहिरबाट विकास लाद्ने होइन, स्थानीय नागरिकलाई नै मुख्य निर्णयकर्ता बनाउने नीति लिएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्र समुदायमा ४८४ वटा स्वावलम्बन समूह गठन भएका छन्। मुगुमा २ र कालिकोटमा १ गरी ३ वटा सहकारी दर्ता भई १,१९३ जना सदस्य बचत र उद्यममा जोडिएका छन्।

यसैगरी, ३१ वटा सिँचाइ कुलो निर्माण हुँदा १,६९७ घरधुरीका बाँझा खेतबारी हराभरा भएका छन्। ३०१ घरधुरीमा धुवाँरहित सुधारिएको फलामे चुलो जडान भएको छ। बाढी, पहिरो, आगलागी र खडेरीको चपेटामा परेका बाजुरा, कालिकोट, जाजरकोट, रोल्पा र कपिलवस्तुका १,४९७ घरधुरीलाई तत्काल मानवीय राहत र खाद्यान्न सहयोग पुर्‍याइएको छ।

यी कार्यक्रमले भुइँमान्छेको जीवनमा कस्तो चमत्कार ल्याएका छन् भन्ने उदाहरण जुम्ला गुठीचौरका नारायण हुन्। मलेसियामा पसिना बगाउँदासमेत ऋण तिर्न नसकेर क्यान्सरको उपचार गर्न घर फर्किएका नारायणले आइएनएफको स्वावलम्बन समूहको सहयोगमा तीन महिने मोटरसाइकल मर्मत तालिम लिए। आज उनी गाउँमै मासिक १५,५०० रुपैयाँ कमाउँछन्। नारायण गर्वसाथ भन्छन्— “तालिमले मलाई सिप मात्र दिएन, बाँच्ने नयाँ बाटो र आत्मविश्वास दियो।”

दाङ बबईकी शारीरिक अपाङ्गता भएकी एकल महिला शान्ति ले उपयुक्त ह्विलचियर र सानो किराना पसल चलाउने सहयोग पाएपछि दैनिक ५०० देखि १,५०० रुपैयाँसम्म व्यापार गर्न थालेकी छिन्। उनी भन्छिन्— “पहिले अरूको भर पर्नुपर्थ्यो, अहिले आफैँ कमाउँछु र बल्ल मैले आफूलाई माया गर्न थालेकी छु।” कालिकोट पचालझरनाकी रानी जो हिजो चार जनाका अगाडि बोल्न डराउँथिन्, आज स्वावलम्बन समूह हुँदै वडा विपद् व्यवस्थापन समिति र सामुदायिक वनको नेतृत्व गरिरहेकी छिन्। बाँके राप्तीसोनारीकी सीमा ले सिलाइकटाइ सिकेर मासिक २५–३० हजार रुपैयाँ कमाउँदै हिंसापीडित दिदीबहिनीलाई सिप सिकाउने प्रशिक्षक बनेकी छिन्। बाजुरा हिमाली गाउँपालिकाकी ५७ वर्षीया एकल तथा अपाङ्गता भएकी हजुरआमा नर्मया ले खडेरीले गहुँ सुकेका बेला चामल, दाल, तेल र नुनको राहत पाएपछि लामो सास फेर्दै भनिन् “अब मेरो नाति भोकै बस्नुपर्दैन, मेरो परिवारलाई पिरलो हटेको छ।”

व्यक्तित्व, कृतित्व र व्यवस्थापकीय कौशल : तार्किक तथा विश्लेषणात्मक विवेचना

कुनै पनि संस्थाको व्यक्तित्व उसको मूल्यमान्यता, पारदर्शिता र सङ्कटका बेला उसले देखाउने व्यवहारबाट निर्माण हुन्छ । आइएनएफ नेपाल र हरियो खर्क अस्पतालको ७४ वर्षे कृतित्वलाई नियाल्दा यसका पछाडि स्पष्ट वैज्ञानिक, तार्किक र व्यवस्थापकीय आधारहरू देखिन्छन् ।

नेपालको सन्दर्भमा पुनःस्थापना सेवाको आवश्यकता कति विकराल छ भन्ने तथ्यलाई हेरौँ। तथ्याङ्कअनुसार नेपालका प्रति चार जनामा एक जना (करिब ९० लाख नागरिक) लाई कुनै न कुनै प्रकारको पुनःस्थापना सेवाको खाँचो छ। कुल जनसङ्ख्याको ८.९ प्रतिशतलाई सहायक सामग्री (कृत्रिम अङ्ग, ह्विलचियर, बैसाखी, श्रवणयन्त्र) आवश्यक छ।तर भौगोलिक विकटता, गरिबी र जानकारीको अभावका कारण सहायक सामग्री चाहिनेमध्ये १९.७ प्रतिशत नागरिक त्यसबाट पूर्ण रूपमा वञ्चित छन्।

यही विशाल खाडल पुर्न हरियो खर्क अस्पतालले नेपालको स्वास्थ्य प्रणालीमा मेरुदण्डको काम गरेको छ। नेपालमा समर्पित ‘फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (पिएमएन्डआर)’ विशेषज्ञ चिकित्सक (फिजियाट्रिस्ट) भएको देशकै केवल दुईवटा केन्द्रमध्ये हरियो खर्क एक हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत हरियो खर्क अस्पताललाई गण्डकी प्रदेशको विशिष्टीकृत ‘टर्सियरी केयर’ तथा पुनःस्थापना केन्द्रका रूपमा मान्यता दिएको छ। डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय दस्तावेजमा हरियो खर्कले अस्पतालको चौघेराभन्दा बाहिर समुदायसम्म पुनःस्थापना सेवा विस्तार गरेर अनुकरणीय नमुना प्रस्तुत गरेको भनी प्रशंसा गरिएको छ।

हरियो खर्क अस्पताल उपचारमा मात्र होइन, चिकित्सा अनुसन्धान र प्राज्ञिक उन्नयन मा पनि उत्तिकै अगाडि छ। आर्थिक वर्ष २०८२/८३ मा मात्र अस्पतालका चिकित्सक र अनुसन्धानकर्ताहरूले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को स्वीकृतिमा ५ वटा अन्तर्राष्ट्रिय स्तरका सहकर्मी-समीक्षित (पियर-रिभ्युड) शोधपत्रहरू प्रतिष्ठित मेडिकल जर्नलहरूमा प्रकाशित गरेका छन्। स्थानीय स्रोतसाधन प्रयोग गरी कम लागतमा तयार पारिएको ‘प्रोस्थेटिक सिलिकन कुसन लाइनर’ को प्रभावकारितादेखि ग्रामीण नेपालमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत दिइने प्रशामक स्याहार (प्यालिएटिभ केयर) सम्मका अनुसन्धानहरू चीन, फिलिपिन्स, भारत र मलेसियाका अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका छन्। अस्पतालकी अमृता श्रेष्ठले ‘आइसिपिसिएन २०२५’ अन्तर्राष्ट्रिय सम्मेलनमा द्वितीय पुरस्कार जितेर नेपालको नाम उच्च राखेकी छिन्।

व्यवस्थापकीय र आर्थिक दृष्टिकोणबाट हेर्दा पनि आइएनएफ नेपालको कार्यशैली अनुकरणीय छ। संस्थामा ४१३ जना नेपाली कर्मचारी (जसमा २१३ महिला र २०० पुरुष छन्) तथा १५ जना विदेशी स्वयंसेवक कार्यरत छन्। तीमध्ये हरियो खर्क अस्पतालमा मात्र १९० जना दक्ष जनशक्ति अहोरात्र खटिएका छन्। संस्थाको स्वास्थ्य सेवा जनशक्तिमा ५८ प्रतिशत महिला र १७ जना अपाङ्गता भएका कर्मचारी कार्यरत रहनुले समावेशिताको व्यवहारिक अभ्यास देखाउँछ।

आर्थिक वर्ष २०८२/८३ मा आइएनएफ नेपालको कुल आम्दानी ७३ करोड ४८ लाख रुपैयाँ र कुल खर्च ७६ करोड १० लाख रुपैयाँ रहेको छ। यसमध्ये हरियो खर्क अस्पतालको सञ्चालन खर्च ३० करोड ४७ लाख रुपैयाँ छ भने अस्पतालको आन्तरिक सेवाबाट २४ करोड ६० लाख रुपैयाँ स्थानीय आम्दानी सङ्कलन भएको छ। गरिब बिरामीको निःशुल्क उपचार र कुष्ठरोग निवारणका लागि मात्र संस्थाले ५ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ। विदेशी दातृ निकायको अनुदानमा मात्र भर नपरी संस्थालाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन वि.सं. २०७७ मा मुनाफा वितरण नगर्ने साइनिङ नेपाल मल्टिपर्पोज कम्पनी (एसएनएमसी) स्थापना गरिएको छ। यसका साथै, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्न साइनिङ एकेडेमी अफ हेल्थ एन्ड साइन्सेज (साहस) सञ्चालनको अन्तिम तयारी पूरा भएको छ।

हालै अस्पतालमा बालरोग सेवा, ५ शय्याको आइसियु, आकस्मिक ट्रमा सेवा, विस्तारित नाक–कान–घाँटी सेवा र थप शल्यक्रिया कक्षहरू सञ्चालनमा आएका छन्। अब छिट्टै प्रसूति सेवासमेत सुरु गर्ने तयारी भइरहेको छ। यसले हरियो खर्कलाई एक पूर्ण विशिष्टीकृत बहुआयामिक अस्पतालका रूपमा स्थापित गर्दै लगेको छ।

उज्यालो भोलितर्फको हातेमालो

सन् १९५२ मा पोखराको रामघाटमा एउटा सानो टहराबाट बलेको सेवाको दियो आज ७४ वर्ष पूरा गर्दा देशैभरि उज्यालो छर्ने महादीप बनेको छ।आइएनएफ नेपाल र हरियो खर्क अस्पतालको यो यात्राले एउटा शाश्वत सत्य प्रमाणित गरेको छ जब विज्ञानसँग करुणा जोडिन्छ र प्रविधिसँग मानवीय संवेदना मिसिन्छ, तब असम्भव लाग्ने घाउहरू पनि निको हुन्छन् ।

नेपाल आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ।तीनै तहका सरकारहरूले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गर्ने प्रयत्न गरिरहेका छन् । यस्तो बेला ७४ वर्षको खारिएको अनुभव, दक्ष जनशक्ति र समुदायको अथाह विश्वास बोकेको आइएनएफ नेपाल र हरियो खर्क अस्पताल राज्यको भरपर्दो सारथि बन्न सक्छ। स्वास्थ्य सेवा निर्देशक डा. अरुण बुढाले भनेझैँ नागरिक, समुदाय र सरकारसँगको हातेमालोले मात्र कोही पनि नेपाली उपचार र पुनःस्थापनाबाट वञ्चित नहुने समाज निर्माण सम्भव छ ।

पोखराको नयाँगाउँस्थित हरियो खर्कको आँगनमा आज पनि बिहानै घाम झुल्किन्छ । बैसाखी टेकेर भित्र पसेको बिरामी मुस्कुराउँदै आफ्नै खुट्टामा हिँडेर घर फर्किन्छ।समाजले तिरस्कार गरेको कुष्ठरोगीले आत्मसम्मानको शिर ठाडो पारेर बाटो नाप्छ। साँच्चै, हरियो खर्क अस्पताल र आइएनएफ नेपालले ७४ वर्षदेखि घाउमा मलम मात्र लगाएको छैन, हजारौँ नेपालीको निभ्न लागेको जीवनमा कहिल्यै ननिभ्ने उज्यालो भरिदिएको छ। अर्को वर्ष ७५औँ वर्ष अर्थात् हीरक महोत्सवको सङ्घारमा उभिँदै गर्दा प्रेम र सेवाको यो जीवन्त विरासत अझ फराकिलो, अझ जनमुखी र जुगौँजुगसम्म अमर रहिरहोस्।

Leave A Reply

Your email address will not be published.