काठमाडौं :
नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (NGFF) २०२७ को तयारी तीव्र पारिएको छ।
आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, संचारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।
नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन्। पहिलो संस्करणमै यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय चलचित्र प्राप्त हुनुले महोत्सवप्रति विश्व चलचित्र क्षेत्रको चासो र आकर्षण बढ्दै गएको आयोजकको विश्वास छ।
‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० वटा उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म काठमाडौंमा प्रदर्शन गरिनेछ। चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित चलचित्र छनोट समितिले काम गर्नेछ। छनोट भएकामध्ये उत्कृष्ट चलचित्रहरूलाई निर्देशक अशोक शर्मा नेतृत्वका नेपाली तथा विदेशी जुरीहरूले नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी चलचित्र प्राप्त हुँदा आफूहरू अत्यन्त उत्साहित भएको बताए। उनले भने, “हाम्रो पहिलो संस्करणमै विश्वभरबाट यति ठूलो संख्यामा फिचर, सर्ट र डकुमेन्ट्री फिल्म प्राप्त हुनु निकै उत्साहजनक उपलब्धि हो। यसले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवप्रति विश्व चलचित्रकर्मीको विश्वास र चासो देखाएको छ। हामी नेपालकै एउटा ठूलो महोत्सव बनाउने उद्देश्यका साथ अघि बढिरहेका छौँ।”
महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरणसम्बन्धी फिल्म, मानवशास्त्रीय फिल्म, मानवअधिकारसम्बन्धी फिल्म, महिला विषयवस्तुमा आधारित फिल्म तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्रलाई समेटिनेछ। त्यसैगरी एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बौद्धिकता (AI) मा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइनेछ।
महोत्सवमा करिब १०० जना अन्तर्राष्ट्रिय चलचित्रकर्मी तथा चलचित्र उद्योगका व्यक्तित्वको सहभागिता जुटाउने तयारी भइरहेको छ। हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित चलचित्रकर्मी महोत्सवमा अतिथिको रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म चलचित्र प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।
NGFF ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, नेपाली प्रतिभा र सिर्जनालाई विश्वमाझ चिनाउने तथा विदेशी चलचित्र निर्माता र निर्देशकलाई नेपालमा चलचित्र निर्माणका सम्भावना र गन्तव्यबारे जानकारी गराउने लक्ष्य लिएको छ। यसबाट नेपालमा चलचित्र पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य तथा चलचित्र निर्माणमा विदेशी लगानीको सम्भावनासमेत विस्तार हुने अपेक्षा गरिएको छ।
नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथाहरूलाई अन्तर्राष्ट्रिय चलचित्र जगत्मा प्रवर्द्धन गर्नु महोत्सवको अर्को महत्वपूर्ण उद्देश्य हो। युनेस्को क्रिएटिभ सिटी अफ फिल्मको अवधारणासँग जोड्दै काठमाडौंलाई चलचित्र सिर्जना, सहकार्य र सांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसमेत महोत्सवले राखेको छ। महोत्सवलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित चलचित्र उत्सवका रूपमा विकास गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र संस्था, कूटनीतिक नियोग, शैक्षिक संस्था, पर्यटन क्षेत्र तथा निजी क्षेत्रसँग सहकार्यका लागि छलफल भइरहेको आयोजकले जनाएको छ।