सुचना, समाचार र मनोरन्जन

आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा

पोखरा/

तनहुँको आँबुखैरेनी गाउँपालिकाका विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा दिइने भएको छ । विद्यालय समय वा विद्यालय पोसाकमा रहेका विद्यार्थीको निःशुल्क उपचार गर्ने निर्णय भएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय समयमा वा विद्यालय पोसाकमा रहँदा उपचार गर्नुपरेमा गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।

यस्तै, पालिकाभित्रका सबै विद्यालयमा वार्षिक शुल्क र भर्ना शुल्क लिन नपाउने गरी निर्णय गरिएको छ । गाउँ शिक्षा समितिको बैठकले पालिकाभरिका कुनैपनि संस्थागत तथा सामुदायिक विद्यालयमा वार्षिक शुल्क नलिन उर्दी जारी गरेको छ । नयाँ विद्यार्थी बाहेक अन्य विद्यार्थीलाई भर्ना शुल्क पनि लिन नपाउने गरी निर्णय गरिएको चुमानले जानकारी दिए ।

पालिकाले २ वर्षदेखि शैक्षिक सुधार अभियान सञ्चालन गरेको छ । विद्यार्थीलाई विद्यालय अपायक भए बस उपलब्ध गराउनेदेखि निःशुल्क रुपमा ट्रयाकसुट वितरण, शैक्षिक सामग्री र पुराना डेस्कबेञ्च हटाउने काम गरेको पालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.