काठमाडौँ,
नेपालद्वारा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। महासभाले मार्च १० मा उक्त प्रस्ताव अनुमोदन गरेसँगै अब हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ। यस निर्णयलाई नेपालका लागि कूटनीतिक तथा सांस्कृतिक दृष्टिले ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
संयुक्त राष्ट्रसंघबाट पारित भएको यो दिवसले स्वास्थ्यलाई केवल रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याण को रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ। विश्वका विभिन्न देशहरूमा बढ्दो मानसिक तनाव, सामाजिक असन्तुलन र जीवनशैलीसम्बन्धी समस्याहरूका बीच यो पहललाई मानव कल्याण केन्द्रित विश्वव्यापी अभियानका रूपमा लिइएको छ।
अन्तर्राष्ट्रिय स्तरमा प्रायः द्वन्द्व, राजनीति र आर्थिक विषयहरूमा केन्द्रित बहस भइरहेका बेला मानव जीवनको समग्र आरोग्य र कल्याणलाई अन्तर्राष्ट्रिय एजेन्डाको प्राथमिकतामा ल्याउनु अत्यन्त प्रेरणादायी र सकारात्मक कदम भएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार यो पहलले विश्व समुदायलाई स्वास्थ्यप्रति नयाँ दृष्टिकोण अपनाउन प्रेरित गर्नेछ।
आरोग्यसम्बन्धी अभियानमा संलग्न विभिन्न संघ–संस्थाहरूले यस निर्णयलाई ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरेका छन्। लामो समयदेखि योग, ध्यान तथा जीवनशैली सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जीवन विज्ञान लगायतका संस्थाहरूले मानव जीवनको समग्र स्वास्थ्य र आन्तरिक सन्तुलनको महत्वलाई विश्वव्यापी रूपमा स्थापित गर्न यो निर्णय महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
जीवन विज्ञानका प्रतिनिधिहरूका अनुसार मानिसको साँचो प्रगति केवल भौतिक उन्नतिमा सीमित हुँदैन, बरु आन्तरिक सन्तुलन, सचेतना, आत्मजागरण र स्वस्थ जीवनशैली बाट सुरु हुन्छ। विश्व समुदायले आरोग्यलाई समग्र जीवनदर्शनका रूपमा स्वीकार गर्दै जानु मानव सभ्यताको सकारात्मक परिवर्तनको संकेत भएको उनीहरूको धारणा छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय आरोग्य दिवसले विश्वभर मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन, मानसिक स्वास्थ्यको संरक्षण गर्न, प्रकृतिसँग सन्तुलित जीवन बिताउन तथा सामाजिक सद्भावलाई बलियो बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यस ऐतिहासिक निर्णयले नेपाललाई योग, ध्यान, प्राकृतिक उपचार तथा समग्र स्वास्थ्य अभ्यासमा आधारित आरोग्य पर्यटनको सम्भावित विश्व केन्द्र का रूपमा विकास गर्ने अभियानलाई पनि थप बल पुग्ने विश्वास गरिएको छ। हिमालय, प्राकृतिक स्रोत, आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदाले सम्पन्न नेपाल आरोग्य पर्यटनका लागि विश्वमै आकर्षक गन्तव्य बन्न सक्ने विज्ञहरूको धारणा छ।
यस पहललाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल सरकार, संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी नियोग तथा यस अभियानमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्व र संस्थाहरूप्रति आभार व्यक्त गरिएको छ।
साथै, यस ऐतिहासिक उपलब्धिको संरक्षण गर्दै यसको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको दिगो विकास, आरोग्य पर्यटनको प्रवर्द्धन तथा विश्व समुदायमा नेपालको सकारात्मक योगदानलाई अझ मजबुत बनाउने दिशामा नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्न जीवन विज्ञानलगायतका संस्थाहरू सदैव प्रतिबद्ध रहने जनाइएको छ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसको औपचारिक घोषणा भएसँगै आगामी वर्षदेखि अप्रिल १५ का दिन विश्वभर विभिन्न कार्यक्रम, जनचेतनामूलक अभियान, योग–ध्यान अभ्यास तथा स्वास्थ्यसम्बन्धी गतिविधिहरू सञ्चालन गरिने अपेक्षा गरिएको छ।