सुचना, समाचार र मनोरन्जन

गण्डकीमा एनसीसी अल्मुनाई विस्तार: राष्ट्रसेवामा युवा जोड्ने सेनाको पहल

पोखरा,
नेपाली सेनाले राष्ट्रिय सुरक्षा नीति २०७५ को मर्मअनुरूप अनुशासित र राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गर्ने उद्देश्यले गण्डकी प्रदेशमा एनसीसी अल्मुनाई एसोसिएसनको संरचना विस्तार गरेको छ।

पोखरास्थित पश्चिम पृतना मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच एनसीसी तालिम प्राप्त युवाहरूलाई समेटेर १३ सदस्यीय प्रादेशिक कार्यसमिति गठन गरिएको हो। तालिमपछि निष्क्रिय रहेका युवाहरूलाई पुनः संस्थागत रूपमा राष्ट्रसेवा र सामाजिक कार्यमा जोड्न यो समिति गठन गरिएको सेनाले जनाएको छ।

सोही अवसरमा पश्चिम पृतनापति उपरथी भोलानाथ थापाको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। समितिमा डा। दिल बहादुर क्षेत्री, डा। नारायण बराल, डोलराज श्रेष्ठ, मदन के।सी।, आनन्दराज मुल्मी र अवकाश प्राप्त सहायक रथी लक्ष्मण थापा जस्ता लब्धप्रतिष्ठित व्यक्तित्वहरू रहेका छन्।


नवगठित समितिले विपद् व्यवस्थापन, उद्धार कार्य तथा सामाजिक सेवामा एनसीसी ग्राजुएटहरूलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको छ। बैठकले संघदेखि स्थानीय तहसम्म नेटवर्क विस्तार गर्दै युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने रणनीति तय गरेको छ।

पश्चिम पृतना मुख्यालयमा आयोजित खेलकुद विकास सम्बन्धी गोष्ठीको समापन समारोहमा नवनियुक्त पदाधिकारीहरूलाई नियुक्ति पत्र र परिचयपत्र प्रदान गरिएको थियो। यो पहलले गण्डकी प्रदेशमा अनुशासित युवा नेतृत्व विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.