सुचना, समाचार र मनोरन्जन

खेलकुदमा सेनाको चासो नीतिगत सुधार र लगानीमा जोड

पोखरा,
नेपाली खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउन नीतिगत सुधार र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्षसहित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा उच्चस्तरीय गोष्ठी सम्पन्न भएको छ।

नेपाली सेनाको खेलकुद विकासलाई स्तरोन्नति गर्न अपनाउनुपर्ने उपाय विषयक गोष्ठीमा सरोकारवालाहरूले राजनीतिक हस्तक्षेप र स्पष्ट भिजनको अभावले खेलकुद क्षेत्र पछि परेको औंल्याएका छन्। पश्चिम पृतनापति उपरथी भोलानाथ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तालिकामा नेपाली सेनाले पुर्‍याएको करिब ६० प्रतिशत योगदानको प्रशंसा गरिएको थियो।

गोष्ठीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य डा. मधुसूदन सुवेदी, नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष तेज गुरुङ र सेनानी हुमान सिंह कुँवरले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा एसियन गेम्स हुँदै ओलम्पिकसम्म पदक जित्ने लक्ष्य राखेर राज्यले सेनाको खेलकुद संरचनामा थप लगानी गर्नुपर्ने सुझाव दिइएको छ।

छलफलका क्रममा सहभागीहरूले खेलाडी छनोटमा कोटा प्रणालीको अन्त्य, दक्ष प्रशिक्षकको व्यवस्थापन र खेलाडीको जीवनवृत्ति बीमा र रोजगारी सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, नेपालको भूगोल सुहाउँदो अल्ट्रा म्याराथन र हाई अल्टिच्युड खेलकुदलाई अन्तर्राष्ट्रियकरण गर्न सके खेल पर्यटनमार्फत आर्थिक लाभ लिन सकिने विषय पनि उठान भएको थियो।

कार्यक्रममा पृतनापति थापाले गोष्ठीबाट प्राप्त सुझावहरूलाई नीति निर्माण तहमा पुर्‍याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। सेनानी हुमान सिंह कुँवरले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, भूतपूर्व खेलाडी मञ्चका पदाधिकारी तथा विभिन्न खेल संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.