सुचना, समाचार र मनोरन्जन

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा अग्रज तथा योगदानकर्तालाई सम्मान

पोखरा,

लायन्स क्लब अफ पोखराको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सव समारोहमा क्लबका संस्थापक, पूर्वअध्यक्ष तथा सामाजिक सेवामा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको छ ।

समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र निजी क्षेत्रलाई बलियो बनाउन समाजका सबै क्षेत्रको चासो, सहकार्य र साथ आवश्यक रहेको बताए ।

निजी क्षेत्र बलियो नभएसम्म देश समृद्ध हुन नसक्ने उल्लेख गर्दै सभामुख अर्यालले कानुन निर्माणमा सरोकारवालाको सुझाव र बहस महत्वपूर्ण हुने बताए । देशको भूगोल, सामाजिक अवस्था र भावी पुस्ताको आवश्यकतालाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।

‘जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश धनी हुन सक्दैन’, उनले भने ।

देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न आफू ठूलो अभियानमा लागेको उल्लेख गर्दै अर्यालले इमानदारीपूर्वक काम गर्नु राजनीतिक नेतृत्वको जिम्मेवारी भएको बताए । सुशासन कायम भए नागरिक, परिवार र समाज सुरक्षित हुने उनको भनाइ थियो ।

सभामुख अर्यालले लायन्स क्लबमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र व्यवसायलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू आबद्ध रहेको उल्लेख गर्दै समाजसेवामा क्लबले पुर्‍याएको योगदानको प्रशंसा गरे । आफू पनि सन् २०१६ देखि लायन्स परिवारमा जोडिएको र समाजमा केही गर्नुपर्छ भन्ने प्रेरणाले सेवाको अवसर पाएको उनले बताए ।

Pach Pandav

स्वर्ण महोत्सवका अवसरमा क्लबका संस्थापक अध्यक्ष जर्ज जोन, संस्थापक कोषाध्यक्ष सुशीलकुमार गोशली तथा संस्थापक सदस्य प्रेमबहादुर श्रेष्ठ र मेहरमान श्रेष्ठलाई सम्मान गरिएको छ । संस्थापक कोषाध्यक्ष गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली’ अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै, क्लबमा विशेष योगदान पुर्‍याउने योगेन्द्रलाल प्रधान, गणेशबहादुर श्रेष्ठ, प्राडा बुद्धिबहादुर थापा, चन्द्रकृष्ण कर्माचार्य, डम्बरबहादुर श्रेष्ठ, दीपेन्द्र कोइराला, कृष्णबहादुर जिसी, देवेन्द्र नकर्मी, शिव श्रेष्ठ र डा। माधव तिवारीलाई सम्मान गरिएको छ । क्लब स्थापनादेखि हालसम्मका ४४ जना अध्यक्षलाई पनि सम्मान गरिएको थियो ।

समारोहमा क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, उपलब्धि, ऐतिहासिक अभिलेख र विभिन्न लेख समेटिएको स्वर्ण महोत्सव स्मारिका विमोचन गरिएको छ । प्रमुख अतिथि सभामुख अर्याल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्सका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले स्मारिका विमोचन गरेका थिए ।

स्वर्ण महोत्सवको अवसरमा क्लबले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरेको छ भने तुलसी घाटमा शवदाहस्थलको शिलान्यास गरेको छ । महोत्सवको अघिल्लो दिन शुक्रबार रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

सन् १९७६ नोभेम्बर १० अर्थात् वि।सं। २०३३ सालमा स्थापना भएको लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ र तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो।

लायन नवराज पटेल र उनको टोलीको पहलमा स्थापना अभियान सुरु भएको क्लबमा सुरुमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्ष प्रस्ताव गरिएको थियो । तर, शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लब अघि बढाइएको थियो ।

स्थापनाकालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति, विपद् व्यवस्थापन, मानवीय सहायता तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । पाँच दशकको सामाजिक सेवायात्रा पूरा गरेको क्लबले स्वर्ण महोत्सवमार्फत अग्रजहरूको योगदानको सम्मान गर्दै आगामी पुस्तालाई समाजसेवामा प्रेरित गर्ने सन्देश दिएको छ ।

Leave A Reply

Your email address will not be published.