सुचना, समाचार र मनोरन्जन

‘अञ्जिला’ले पाँचौँ हप्तामा : व्यापारमा अझै रफ्तार

काठमाडौं :

फागुन २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले रिलिजको पाँचौँ हप्तामा पनि दर्शकको साथ पाएको छ। शनिवार समेत उत्साहजनक व्यापार कायम राखेको निर्माण पक्षको भनाई छ।

काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छन्। अधिकांश शोहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। बलियो कथा, सशक्त निर्देशन र कलाकारहरूको प्रभावशाली अभिनयका कारण यो फिल्म दर्शकको रोजाइमा अडिन सफल भएको हो। ‘अञ्जिला’ नेपाली बक्स अफिसमा सबैभन्दा स्थायित्व देखाउने चलचित्रमध्ये एक बन्दै गएको छ।

गत वर्षको अन्त्यतिर प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ले उत्कृष्ट पाँचको सूचीमा स्थान बनाउन सफल भएको छ। अहिले पनि चलचित्रको व्यापारमा खासै गिरावट देखिएको छैन, जसले यो चलचित्रलाई लामो समयसम्म प्रदर्शनमा टिक्ने सङ्केत दिएको छ। यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्।
निर्देशक मिलन चाम्सले चलचित्रकी पात्र एन्जिला तुम्बापो सुब्बाले भोगेको जीवन कतै न कतै हामी सबैको जीवनसँग मेल खाने भएका कारण दर्शकसँग त्यसको भावनात्मक सम्बन्ध कायम रहेको आफुले बुझेको बताए।

उनले भने,‘हाम्रो मेहनतलाई दर्शकले जसरी माया दिनु भएको छ, त्यसले निकै ऊर्जा मिलेको छ। एन्जिलाले भोगेको कथाले दर्शकलाई भावनात्मक सम्बन्ध जोड्न सघायो। अझै केही हप्ता प्रदर्शनलाई निरन्तरता दिने तयारीमा छौँ।’ फिल्ममा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.