दीपक पौडेल, पोखरा
भर्खर साँझको ५ः५५ हुँदै थियो । न्युरोडको कफिघर क्याफेमा सञ्चालक सोवित ठकुरीसँग भेट भयो।हामी दुवैको अनुहारमा अलि अलि तनाव देखिएको थियो। उनले हाँस्दै भने, “तनाव छ यार, फिल्म हेरौं।” त्यसो भए “एन्जिला” हेरौँ त भनेर मिड टाउनको एपबाट टिकट काटियो। ६:०५ मा हल छिरियो।
यो मेरो दोस्रो पल्ट थियो । एउटै सिनेमा, त्यो पनि नेपाली फिल्म हेर्न गएको। तर मनमा कुनै हिचकिचाहट थिएन। सिनेमा हेरिरहँदा मनले भन्यो – केही त लेख्नै पर्छ। अनि ९ बजे फेरि कफिघर पुगेर एक कप कफी लिए, निद्रा लाग्दैन कि भनेर।अनि घर गएर लेख्न थाले!
म र नेपाली सिनेमा
म नेपाली सिनेमाको नियमित दर्शक हुँ। तर चलचित्र निर्माण, क्यामेरा एङ्गल, स्क्रिप्ट लेखन आदि प्राविधिक पक्षमा मेरो गहिरो ज्ञान छैन। मलाई थाहा हुन्छ त केवल यति हो—चलचित्र हेर्दा म त्यसमा हराउन सक्दछु कि सक्दिन? कथाको बहावसँग बग्न सकिन्छ कि सकिँदैन?
ईलामको हरियो चियाबगानबाट सुरु भएको कथा त्यहीं पुगेर टुंगिन्छ। एन्जिला—एक किशोरी, जसको जीवन पारिवारिक द्वन्द्वमा गुम्सिएको छ। आमाबुवाको सम्बन्ध विछेद, सौता, आमाको संघर्ष, अनि आफ्नो फुटबलप्रतिको मोह।
सपना देख्ने छोरी, जसलाई समाजले बुझ्दैन। बाबुले खेल्न नदिएको खेल, आमाले काठमाडौँ पुर्याएर साकार गराउने सपना। संघर्ष, भोगाइ, पीडा, र अन्ततः सफलता—त्यो सबै पर्दामा देखिन्छ। चलचित्र हेरिसकेपछि लाग्छ—यो कथा एउटाको मात्र होइन, धेरै छोरीहरूको हो।
“एन्जिला” बायोपिक शैलीमा बनेको फिल्म हो। नेपाली महिला फुटबल टिमकी चर्चित गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो कथा पर्दामा उतार्न निर्देशक मिलन चाम्स र सम्पूर्ण टिमले निकै मेहनत गरेका छन्। जसको फल दर्शकले अनुभूति गर्छन्।
फिल्मले देखाउँछ—सपना साकार गर्नु साहस हो। परिवार, समाज, परिस्थितिसँग लडेर अघि बढ्नुको कथा हो एन्जिलाको यात्रा। चलचित्रमा हास्य र खलपात्रको संयोजन राम्रो छ। दर्शक हाँस्छन्, रोन्छन्। तर, अनावश्यक सिनहरू (जस्तै सुन्तला टिपेर साहु कहाँ पुर्याएपछिका संवाद, बाबुले लखेट्दै प्रहरी चौकीसम्म लाने दृश्य) ले फिल्मको लय अलि बिथोल्छ। केही संवादहरू पनि अति नाटकीय र अनावश्यक लम्बिएका छन्।
सिनेमाको पहिलो हाफमा कथा अलिक बिखरिएको लाग्छ। कतै लाग्छ कथा एन्जिलाको होइन, कौसिला र चन्दको त होइनरु तर दोस्रो हाफमा फिल्मले गति लिन्छ र दर्शक भावनात्मक रूपमा जोडिन थाल्छन्।
बायोपिक बनाउँदा ध्यान दिनुपर्ने विषय
एन्जिला तुम्वावेको वास्तविक जीवनबारे थोरै जानकारी भएका दर्शकलाई फिल्ममा देखाइएका केही दृश्यले अलमलमा पार्न सक्छ। किनभने फिल्मले काठमाडौँ आउनुअघि उनी क्षेत्रीय प्रतियोगिता र भारतसम्म खेलेको कुरा उल्लेख गरेको छैन। “सत्य कथामा आधारित” भनिएको हुँदा दर्शकले देखिएको कुरा नै सम्पूर्ण सत्य ठान्न सक्छन्। त्यसैले यथार्थ र सिनेम्याटिक प्रस्तुति बीचको सन्तुलन झनै आवश्यक लाग्छ।
सिनेमा तब सफल हुन्छ, जब दर्शक पात्रसँग बग्न थाल्छ। एन्जिलाको जीवनले त्यो जादु ल्याउन खोजेको छ। कथामा कमजोरीहरू भए पनि पात्रहरूको भावना, संघर्ष र विजयले हृदय छोएको छ।
दोस्रोपटक हल गएर हेर्नुपर्ने जस्तो लाग्ने नेपाली फिल्म कमै भेटिन्छन्। तर एन्जिला त्यो मध्येको हो। साच्चै मन छुन सक्ने, प्रेरणा दिने कथा हो यो।