सुचना, समाचार र मनोरन्जन

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

म्याग्दी, 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल थालिएको  छ ।
अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा पहिलोपटक म्याराथन दौड प्रतियोगितामार्फत आधार शिविर क्षेत्रमा खेलकुद पर्यटन प्रवर्द्धनको सम्भावना उजागर गरिएको हो ।
समुद्री सतहबाट चार हजार १९० मिटर उचाइमा रहेको आधार शिविरबाट नारच्याङ गाउँसम्म सञ्चालन भएको म्याराथन दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसले आधार शिविरमा खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने आधार तयार गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
आधार शिविरबाट नारच्याङ गाउँसम्मको ३८ किलोमिटर दूरीको मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ४० जनाको सहभागिता थियो । हिमपात भइरहने आधार शिविरमा खेलकुद प्रतियोगिता आयोजना भएपछि स्थानीय खेलाडी उत्साहित बनेका छन् ।
Chaka Panja
उच्च स्थानअन्तर्गत आधार शिविरमा पहिलोपटक आयोजना गरिएको म्याराथन दौड प्रतियोगिताले यस क्षेत्रमा खेलकुदका गतिविधिमार्फत पर्यटन प्रवर्द्धनमा लाग्न प्रेरित गरेको नारच्याङका पर्यटन अभियन्ता तेज गुरुङले बताए । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यहाँ यसअघि प्रकृतिमा रमाउन पर्यटक आउने गरेकामा अब साहसिक खेलकुद गतिविधिमा सहभागी हुने पनि आउने उहाँले विश्वास व्यक्त गरे । खेलकुदमार्फत पर्यटकलाई यहाँ भित्र्याउन सकिने सम्भावना बढेको उनको भनाइ छ ।
उच्च हिमाली क्षेत्रमा अल्ट्राम्याराथन दौड प्रतियोगिता प्रचलित मानिन्छ । हिमाली क्षेत्रमा आयोजना हुने खेलकुदका गतिविधि साहसिक मानिने भएकाले यसको चर्चा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने गर्दछ ।
पहिलोपटक जिल्लास्तरीय म्याराथन दौड आयोजना भएको बताउँदै आगामी दिनमा आधार शिविरबाट राष्ट्रियस्तरको अल्ट्राम्याराथन दौड प्रतियोगिता आयोजना गर्न सकिने गण्डकी प्रदेश यथलेटिक्स सङ्घका कोषाध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उनका अनुसार हीरक महोत्सवको अवसरमा आयोजित म्याराथन दौडको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जित्नुभएको छ ।
सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले हीरक महोत्सव मनाइएको हो ।
अन्नपूर्ण गाउँपालिकाले दुई वर्षअघि अन्नपूर्ण आरोहण दिवसको अवसरमा आधार शिविरमा छोटो दूरीको दौड तथा विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । हिमाली भूगोलमा खेलकुदका गतिविधिबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चर्चित खेलाडीमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।
Leave A Reply

Your email address will not be published.