सुचना, समाचार र मनोरन्जन

‘सुम्निमा’मा अनुप विक्रम शाही, मिलन चाम्ससँग सात वर्षपछि पुनः सहकार्य

काठमाडौं :

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्। चलचित्र प्रेमकथामा आधारित हुनेछ।

चलचित्रमार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि उनीहरूले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्। ‘लिली बिली’ पछि सात वर्षपछि उनीहरू पुनः एकसाथ काम गर्न लागेका हुन्।

अनुप विक्रम शाहीका अनुसार, चलचित्रमा उनले आफ्नो करिअरको सबैभन्दा नयाँ खालको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटिरहेका छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा बन्ने चलचित्रको नाम नारीप्रधान जस्तो लागे पनि यो विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले बताएका छन्।

चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिले नै अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको छनोट प्रक्रिया जारी रहेको चाम्सले जानकारी दिए।

राजीव थापाद्वारा लिखित यो चलचित्रको छायांकन आगामी अगस्टमा लन्डन र नेपालमा गरिने तयारी छ। यसअघि मिलन चाम्स निर्देशित बायोपिक चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर सफलता हात पार्दै नेपाली बायोपिक विधामा सर्वाधिक कमाइ गर्ने कीर्तिमान राखेको थियो। ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गरिने निर्देशक चाम्सले बताएका छन्।

Leave A Reply

Your email address will not be published.