ललितपुर : सुनाकोठी क्षेत्रमा निर्मित सम्भवतः विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भीमसेनको मूर्तिको आठौं स्थापना दिवस तथा ‘भिं द्यो पूजा’ यही भदौ १ गते आइतबार भव्य रूपमा मनाइने भएको छ।
सुनाकोठी क्षेत्रको साँस्कृतिक, धार्मिक र पर्यटकीय विकास गर्दै ललितपुरलाई विश्वसामु चिनाउन लक्ष्यसहित वार्षिक रूपमा यो उत्सव आयोजना हुँदै आएको हो।
कार्यक्रमका आयोजक सुनाकोठी समाजका अध्यक्ष विनोद डङ्गोलका अनुसार, “भीमसेन जात्रालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।” उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको करिब ६० टन तौल भएको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि यो मूर्ति निर्माण गरिएको हो।
स्थापना दिवसको अवसरमा भव्य तामझामका साथ विविध धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका सदस्य रुपेश डङ्गोलले जानकारी दिए। गायकसमेत रहेका डङ्गोलले थुप्रै गीत–संगीतमा आवाज दिइसकेका छन्।
स्थानीयबासी, भक्तजन र पर्यटकहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको यो कार्यक्रममार्फत सुनाकोठीलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको आयोजकहरूले बताएका छन्।
