सुचना, समाचार र मनोरन्जन

अर्थतन्त्र पछिल्लो समय सुधार हुँदै गएको छ: अर्थमन्त्री पाैडेल

काठमाडौं/

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थ समिति मात्रै नभएर आफू स्वयम् सन्तुष्ट नभएको बताउनुभएकाे छ । उहाँले अर्थतन्त्रमा समस्या भए पनि पछिल्लो समय सुधार हुँदै गएको उल्लेख गर्नुभयाे ।

लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थमन्त्री पाैडेलले अर्थतन्त्र सुधारका लागि केही समय लाग्ने बताउनुभयो । उहाँले विदेशी मुद्राको सञ्चिति, तरलता, बैंकको ब्याजदर एकल अङ्कमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनुभयो ।

सरकारले समस्याका चाङलाई एक/एक गरेर पन्छाउँदै उपलब्धि आर्जन गर्नुपर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको अर्थमन्त्री पाैडेलले बताउनुभयाे । उहाँले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेशन नियन्त्रणमा निरन्तर काम भइरहेको उल्लेख गर्नुभयाे । पछिल्लो समय शेयर बजार केही सुधार हुँदै गएको भन्दै उहाँले नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अर्थतन्त्रमा समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौँ । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन । यसका लागि केही समय लाग्छ, हामीले निरन्तर प्रयास गरिरहेका छौँ । अहिलेको आर्थिक प्रगतिबाट म स्वयम् सन्तुष्ट छैन, यहाँहरू पनि हुनुहुन्न । सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नुछ । राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौँ ।’

Leave A Reply

Your email address will not be published.