सुचना, समाचार र मनोरन्जन

१० दिनमा दुई करोड नजिक ‘बाः एक योद्धा’को कलेक्सन, ६५ हजार बढीले हेरे

काठमाडौँ :

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ले प्रदर्शनको १० दिनमा दुई करोड रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गरेको छ। आइतबारसम्मको तथ्याङ्कअनुसार चलचित्रले १ करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ भने यस अवधिमा ६५ हजार ५ सय ६० जना दर्शकले सिनेमा हेरेका छन्। सुरुआती चार/पाँच दिनपछि गति लिएको चलचित्रले हाल हलहरूमा उत्साहजनक व्यापार गरिरहेको छ।

Chaka Panja

दर्शकको सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) का कारण हरेक दिन सिनेमाघरमा मानिसहरूको चाप बढ्दै गएको निर्देशक हरि लम्सालले बताएका छन्। “विस्तारै शोहरू थपिने क्रम बढिरहेको छ। चलचित्र राम्रो र हेर्नैपर्ने बनेको प्रतिक्रिया दर्शकबाट आइरहेकाले आगामी दिनमा अझ राम्रो साथ पाउनेमा हामी विश्वस्त छौँ,” उनले भने।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको यस चलचित्रको कथा, पटकथा तथा निर्देशन हरि लम्सालकै रहेको छ। चलचित्रको कथा नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बाबुले गर्ने त्याग, सङ्घर्ष र जीवनभर झेल्ने चुनौतीहरूमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने सङ्घर्षदेखि वृद्धावस्थामा उनीहरूले व्यहोर्नुपर्ने उपेक्षा र दुःखलाई यसले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको मुख्य अभिनय रहेको छ। वसन्त लम्साल निर्माता रहेको यस चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह-निर्माताका रूपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.