पोखरा :
विनाशकारी बाढीले कसैको घर बगायो, कसैको परिवार उजाड्यो र धेरै बालबालिकाको भविष्यसमेत अनिश्चित बनायो। यही कठिन परिस्थितिबीच विपद् प्रभावित बालबालिकालाई राहत मात्र होइन, शिक्षामार्फत फेरि आफ्नो भविष्य निर्माण गर्ने आधार दिने उद्देश्यले महत्वपूर्ण दीर्घकालीन अभियान सुरु भएको छ।
रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन पुनर्स्थापनाका लागि नेपालको बतास फाउन्डेसन र भारतको डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसनबीच सहकार्य गर्ने सम्झौता भएको हो।सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष तत्काल राहतभन्दा अगाडि बढेर विपद्का कारण अभिभावक गुमाएका तथा अत्यन्त कमजोर आर्थिक र सामाजिक अवस्थामा पुगेका बालबालिकाको शिक्षा, आत्मनिर्भरता र भविष्य सुरक्षित गर्नु हो।
सम्झौताअनुसार पहिलो चरणमै १०० भन्दा बढी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन शैक्षिक सहयोग उपलब्ध गराइनेछ। उनीहरूको आवश्यकता र शैक्षिक यात्राका आधारमा उच्च शिक्षासम्म समेत सहयोग गर्ने प्रतिबद्धता दुवै संस्थाले जनाएका छन्। विपद्पछि खाद्यान्न, लत्ताकपडा, औषधि र अस्थायी आवास अत्यावश्यक हुन्छन्। तर समय बित्दै जाँदा राहतका सामग्री सकिन्छन्, जबकि अभिभावक गुमाएका वा आर्थिक आधार कमजोर भएका बालबालिकाको शिक्षामा परेको असर वर्षौंसम्म रहन सक्छ। यही वास्तविकतालाई मध्यनजर गर्दै दुई संस्थाले बालबालिकाको भविष्यलाई दीर्घकालीन प्राथमिकतामा राखेका हुन्।
मणि लाल फाउन्डेसन का अध्यक्ष आचार्य डा सुरज पाठकका अनुसार यो अभियान केवल छात्रवृत्ति बाँड्ने कार्यक्रम होइन। बालबालिकाको पढाइ निरन्तर राख्नुका साथै उनीहरूमा गुमेको आत्मविश्वास फर्काउने, अवसरसँग जोड्ने र भविष्यप्रतिको आशा पुनःजगाउने यसको मूल उद्देश्य हो।
“विपद् उनीहरूको रोजाइ थिएन। त्यसैले विपद्का कारण कुनै पनि बालबालिकाले आफ्नो शिक्षा, सपना र भविष्यसँग सम्झौता गर्न नपरोस्,” भन्ने भावनासहित कार्यक्रमलाई दीर्घकालीन मानवीय लगानीका रूपमा अगाडि बढाइएको डा पाठकले बताएका छन्। भारतको ग्रामीण बंगालबाट आफ्नो यात्रा सुरु गरेका डा. मणिलाल भौमिक विज्ञान तथा अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय योगदानका लागि परिचित छन्। एक्साइमर लेजर प्रविधिमा उनको अग्रणी अनुसन्धानले आधुनिक लेसिक आँखा शल्यक्रियाको विकासका लागि महत्वपूर्ण वैज्ञानिक आधार तयार पारेको मानिन्छ। विज्ञानबाट प्राप्त उपलब्धिलाई मानव कल्याणसँग जोड्ने उनको सोच फाउन्डेसनका सामाजिक कार्यक्रमहरूमा समेत प्रतिबिम्बित हुँदै आएको छ।
डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसनले शिक्षा, वैज्ञानिक सोच, डिजिटल साक्षरता, स्वास्थ्य सेवा, सीप विकास तथा विपद् प्रतिकार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। त्यस्तै, बतास फाउन्डेसनले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, छात्रवृत्ति, विपद् राहत र समुदाय सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी जोखिममा रहेका तथा सीमान्तकृत समुदायसम्म प्रत्यक्ष पहुँच पुर्याउँदै तत्कालीन आवश्यकतासँगै दीर्घकालीन समाधानमा जोड दिँदै आएको फाउन्डेसनले जनाएको छ।
हाल बाढी प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गर्दै राहत, पुनर्स्थापना र दीर्घकालीन सहयोगलाई प्रभावकारी बनाउन बतास फाउन्डेसनले स्थानीय तहसहित विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ। यो सहकार्यले विपद् व्यवस्थापनमा एउटा महत्वपूर्ण सन्देशसमेत दिएको छ—पीडितलाई आज खाना र छानो दिनु राहत हो, तर एउटा बालबालिकालाई फेरि विद्यालय फर्काएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु भविष्यको पुनर्निर्माण हो। बाढीले धेरै कुरा बगाएको छ। तर ती बालबालिकाका सपना बग्न नदिन गरिएको यो प्रयास नै पुनर्स्थापनाको सबैभन्दा बलियो सुरुवात बन्न सक्छ।