सुचना, समाचार र मनोरन्जन

किसान परिवारबाट व्यवसाय हुँदै नेतृत्वको यात्रामा कुँवर : ‘पद होइन, निजी क्षेत्र बलियो बनाउने जिम्मेवारी चाहेको हुँ’

पोखरा :

साधारण किसान परिवारबाट व्यावसायिक यात्रा सुरु गरेर दुई दशकभन्दा लामो समय विभिन्न क्षेत्रमा सक्रिय ललितबहादुर कुँवर यतिबेला पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षको उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा बलराम आचार्य नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका कुँवरले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको प्रतिस्पर्धाभन्दा उद्योगी–व्यवसायीको आत्मविश्वास बढाउने र कमजोर बन्दै गएको निजी क्षेत्रलाई थप सशक्त बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

“उद्योगी–व्यवसायी बलियो भए अर्थतन्त्र बलियो हुन्छ, अर्थतन्त्र बलियो भए देश समृद्ध हुन्छ,” कुँवर भन्छन्, “त्यसैले निजी क्षेत्रको आवाज सुन्ने मात्र होइन, समाधानका लागि सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने नेतृत्व आवश्यक छ।”

उनले विशेषगरी साना, मझौला तथा घरेलु उद्योगको संरक्षण र प्रवर्द्धन, नयाँ लगानीका लागि विश्वासिलो वातावरण, उद्यमशीलताको विकास र व्यवसायीबीच बलियो एकतालाई आफ्नो प्राथमिकतामा राखेका छन्।

२०५७ सालमा इलेक्ट्रोनिक्स व्यवसायबाट यात्रा सुरु गरेका कुँवरले समयसँगै खाद्यान्न, कृषि र पर्यटन क्षेत्रमा आफ्नो व्यावसायिक संलग्नता विस्तार गरेका छन्। होटल लुना, लालुपाते कृषि फर्म र आभाष ट्रेडर्सलगायतका प्रतिष्ठानसँग जोडिएका उनले व्यवसायका अवसरसँगै चुनौती पनि नजिकबाट भोगेको बताउँछन्।

त्यही अनुभवलाई अब व्यवसायीको साझा हितमा प्रयोग गर्ने उनको प्रतिबद्धता छ। संघका बैठक, कार्यक्रम तथा गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएका कुँवरले राष्ट्रिय औद्योगिक व्यापार मेलामा सांस्कृतिक समिति संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। आफूलाई कुनै व्यक्ति वा पूर्वअध्यक्षको प्रभावभन्दा पनि आफ्नो काम, सक्रियता र व्यवसायीको विश्वासले यहाँसम्म ल्याएको उनको भनाइ छ।
“मेरो परिचय कसको समर्थनमा उभिएको छु भन्ने होइन, मैले के काम गरेको छु भन्ने हो। मेरो शक्ति आम उद्योगी–व्यवसायीको विश्वास हो,” कुँवरले बताएका छन्।

पोखरालाई व्यापार, उद्योग, पर्यटन र उद्यमशीलताको बलियो केन्द्र बनाउन नयाँ लगानी आकर्षित गर्नुपर्ने र पुराना व्यवसायलाई टिकाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ। लामो व्यावसायिक अनुभवपछि नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका कुँवरको सन्देश स्पष्ट छ—व्यवसायीलाई टिकाउने नीति, लगानीकर्तालाई विश्वास र नयाँ पुस्तालाई उद्यम गर्ने वातावरण। उनले २ हजार ७ सय ३१ मतदातासमक्ष आफ्ना योजना र विगतको कामको मूल्याङ्कन गर्दै उद्योग उपाध्यक्ष पदमा विश्वासको मत दिन आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.