सुचना, समाचार र मनोरन्जन

अब एक्लाएक्लै राजदूत भेट्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र अर्थात् बालेन शाहले अब विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

यसअघि विदेशी राजदूतहरूसँग सामूहिक भेटघाटलाई प्राथमिकता दिएका प्रधानमन्त्री बालेनले सोमबारदेखि भने एक–एक गरी राजदूतहरूसँग भेटवार्ता सुरु गर्न लागेका हुन्।

भेटवार्ताको सुरुवात भारतीय राजदूत नविन श्रीवास्तवबाट हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय राजदूतसँग भेटेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्नेछन्। त्यसपछि अमेरिका लगायत विभिन्न देशका राजदूतसँग पनि भेटघाट गर्ने तयारी छ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि विभिन्न देशका राजदूतहरूले बधाई तथा शुभकामना दिन छुट्टाछुट्टै भेटका लागि समय माग गरेका थिए। तर प्रधानमन्त्री बालेनले तत्काल व्यक्तिगत भेटलाई प्राथमिकता नदिई चैत २५ गते सबै देशका राजदूत तथा नियोग प्रमुखसँग सामूहिक भेट गरेका थिए।

त्यसक्रममा नेपालका विदेश नीतिबारे जानकारी गराइएको थियो। भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, कतारसहित विभिन्न देशका राजदूत तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधि सामूहिक भेटमा सहभागी भएका थिए।

त्यसपछि जेठ १२ गते पनि प्रधानमन्त्री बालेनले नेपालस्थित युरोपेली संघ आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।

तर त्यसयता पनि विभिन्न देशका राजदूतले छुट्टाछुट्टै भेटका लागि गरेको प्रयासमा प्रधानमन्त्रीले समय दिएका थिएनन्। विदेशबाट आएका उच्चस्तरीय कूटनीतिज्ञसँगको भेटसमेत प्राथमिकतामा नपरेपछि सरकारको कूटनीतिक सक्रियतामाथि प्रश्न उठ्दै आएको थियो।

यहीबीच प्रधानमन्त्री बालेनलाई कूटनीतिक क्षेत्रसँग प्रत्यक्ष संवाद बढाउन विभिन्न तहबाट सुझाव दिइएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले समेत भेटघाट र विदेश भ्रमणका लागि पहल गर्दै आएका थिए।

प्रधानमन्त्रीको निष्क्रियताबीच नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सक्रिय बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री खनाल कूटनीतिक दौडधुपमा सक्रिय भएका छन्। लामिछाने भारत भ्रमण गरिसकेका छन् भने परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण गरिसकेका छन्।

अब भने प्रधानमन्त्री बालेन आफैँ विदेशी राजदूतसँग संवादमा फर्किन लागेका छन्। भारत र चीनबाट विदेश भ्रमणको निम्तो पाए पनि प्रधानमन्त्रीले अहिलेसम्म विदेश भ्रमण गर्नेबारे निर्णय गरेका छैनन्।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री खनालले नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेका छन्।

प्रधानमन्त्री बालेनको पछिल्लो कूटनीतिक सक्रियतालाई भने नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ। राजदूतहरूसँगको व्यक्तिगत भेटवार्ताले आगामी दिनमा प्रधानमन्त्रीको विदेश भ्रमण र उच्चस्तरीय कूटनीतिक संवादको बाटोसमेत खुल्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.