काठमाडौँ :
बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा एक मुख्य कलाकार अनुबन्ध भएका छन्। चलचित्रको निर्माण टोलीले सोमबार असार १५ ९राष्ट्रिय धान दिवस तथा दही(चिउरा खाने दिन) को अवसर पारेर चलचित्रमा रियान गिरी अनुबन्ध भएको जानकारी दिएको हो।
रियान चलचित्र ‘होस्टेल–३’ बाट नेपाली सिनेमा उद्योगमा प्रवेश गरेका कलाकार हुन् । अभिनयका साथै रियान गायक पनि हुन्,उनले थुप्रै गीतमा आफ्नो स्वर दिइसकेका छन् ।
“रियानलाई हामीले हाम्रो सिनेमामा अनुबन्ध गरेका छौँ । उनी मुख्य भूमिकामा देखिनेछन्,” निर्देशक चौहानले भने, “हाम्रो चलचित्रको कथामा फिट हुने देखिएकाले नै उनलाई अनुबन्ध गराएका हौँ ।”
गत वर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’ बाट निर्देशनमा डेब्यु गरेका चौहानले दोस्रो चलचित्रका रूपमा ‘ल्याङ्ग ल्याङ्ग’ निर्देशन गर्न लागेका हुन् ।
निर्देशक चौहानले केही समयअघि थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका थिए । हाल उनी चलचित्रको कास्टिङमा जुटेका छन् ।
“अन्य कलाकार र प्राविधिकहरू हामी बिस्तारै फाइनल गर्दै जानेछौँ, केहीसँग कुरा भइरहेको छ,” निर्देशक चौहानले थपे।
स्काईफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ को स्लोगन हरेक युवाको कथा’ राखिएको छ, जसले यो चलचित्र युवा पुस्ता केन्द्रित छ भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने बोलीचालीको शब्द हो। यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटक(पटक कर गर्ने वा तनाव दिने भन्ने बुझिन्छ।
‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य ः यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सार्वजनिक गरेका थिए। उक्त पोस्टरले अचानक प्रेममा धोका पाएको प्रेमीको कथालाई चलचित्रले समेट्ने सङ्केत गरेको छ। चलचित्रको कथा बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।
चौहानको गत वर्ष प्रदर्शनमा आएको पहिलो चलचित्र ‘द ब्ल्यू लाइट’ ले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो। तर, तत्कालीन समयमा निर्वाचनको माहोलका कारण यस चलचित्रलाई प्रदर्शनको तेस्रो दिनमा नै निर्माण टोलीले हलबाट उतारेको थियो।