काठमाडौं/
बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने पैसा थुप्रिएको छ । तर कर्जा माग्ने व्यक्ति र व्यवसायिक संस्था भने भेटिन छाडेका छन् ।
डेढ वर्षअघिसम्म बैङ्क तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्ने पैसा थिएन अर्थात् तरलता अभाव थियो । अहिले भने पैसा थुप्रिएको छ अर्थात् अधिक तरलता छ । अधिक तरलताले देशमा आर्थिक गतिविधि सुस्त रहेको र विकास निर्माण तथा उद्यमको विस्तार नभएको जनाउँछ ।
नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अहिले मौद्रिक नीतिले काम नगर्दा देश तरलताको पासोमा परेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार अहिले बैङ्कहरूमा कुल ६६ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ५३ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी छ । निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएकाले अहिले बैङ्कहरुसँग लगभग साढे ६ खर्ब रुपैयाँ बराबर लगानी योग्य रकम देखिन्छ । तर अर्थतन्त्र सुस्त हुँदा नयाँ उद्योग कलकारखाना खासै खुलेका छैनन्, खुलेकाले पनि क्षमता बढाउने आँट गरेका छैनन्।
सरकारले ब्याज अनुदानमा दिने सहुलियतपूर्ण कर्जा रोकिएको छ । अधिक तरतलाको सबैभन्दा ठूलो समस्या पुँजीगत खर्च कम हुनु हो । चालु आर्थिक वर्षको साढे पाँच महिनामा जम्मा १२ दशमलव ८२ प्रतिशत अर्थात ४५ अर्ब १८ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।
पुँजीगत खर्च नबढेसम्म अधिक तरलताको समस्या समाधान नहुने बताउहुन्छ, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा नरबहादुर थापा बताउनुहुन्छ ।
लामो समय लगानीयोग्य रकम बैङ्कमा थुप्रिँदा त्यसले बैङ्किङ मात्रै नभएर देशकै अर्थतन्त्रमा समस्या ल्याउने विज्ञहरु बताउँछन् ।