काठमाडौँ,
वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।
तीन बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् ।
समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।
अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् ।
केही बैंकलाई पूँजी कोषको दवाव छ भने केहीलाई पर्याप्त रकमका कारण लागत घटाउनुपर्ने दवाव छ । केही बैंकमा कर्जाको माग बढेको छ भने केहीमा माग नै छैन । यिनै विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका हुन् ।