सुचना, समाचार र मनोरन्जन

बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी

घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताए ।

चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए।

“विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उनले भने, “बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने उनको सोच छ ।”

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन । अहिले उनले फूललाई प्रतिकेजी रु चार सयका दरले र माला एक थानलाई रु एक सयमा बिक्री गर्दै आएका छन ।

उमेरले ४० वर्ष पुग्नुभएका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताएका छन। जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएका किसान मगरले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिएका छन ।

अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताए । उनले वार्षिक रूपमा रु ३५ लाख बढीको फूल, माला बिक्रीको कारोबार गरे। यसबाट रु १०–१५ लाख वार्षिक रूपमा बचत हुने उनको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उनले भने ।

उनले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन । उक्त माला रु एक हजारमा बिक्री गर्ने गरेका छन । किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गर्नुभएको छ । किसान रोकामगरले विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उनले बताए ।

अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट पलाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उनले बताए । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उनी खुसी छन । यस व्यवसायमा उनलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।

जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.