काठमाडौँ :
लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने अनटाइटलमा फिल्म अभिनेता प्रदीप खड्का र बेनिशा हमाल फाइनल भएका छन्। निर्माण टिमले सोमबार अनटाइटल फिल्मको मुख्य कलाकारको नाम सहित सार्वजनिक गरेका हुन्।
साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने फिल्मको कथा निर्देशक शाहीले आफैले नै लेखेका हुन्। पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्का संग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन्। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।
फिल्मको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले नयाँ फिल्ममा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए।
प्रदीप शाहीले यस अघि फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’निर्देशन गरेका थिए। जुन फिल्मलेअमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।
नेपाली फिल्मको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए। अभिनेता खड्का यतिबेला पुजार सार्कीको छायांकनमा व्यस्त रहेका छन् भने अभिनेत्री हमाल अभिनित फिल्म ‘उपहार’प्रदर्शनरत रहेको छ। जहाँबाट हमालले तारिफ पाइरहेकी छन्।