काठमाडौं :
प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालको शब्द रचनामा सन्देशमूलक भावको गीत ‘मेरो मृत्यु पछि’को भिडियो लोकार्पण भएको छ। गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा यो गीतको भिडियो रिलिज गरिएको हो।
गीतमा वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको छ। वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको यो गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ को छायाँङ्कन,सम्पादन तथा निर्देशनमा तयार भएको हो। लोकश भाटले सह–सम्पादन र भीएफएक्सको काम गरेका छन् भने भिडियोको लगानी सरला रिजालले गरेकी हुन्।
डाक्टर रिजालको यो गीतले मृत्युपछिको अङ्गदानको महत्वलाई गहिरो ढङ्गमा प्रकाश पारेको छ। मृत्युपछि त्यसै खेर जाने मानव शरीरका अङ्गहरु दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई मर्मस्पर्शी ढङ्गमा गीतको शब्द र भाव अनुसार भिडियोमा प्रस्तुत गरिएको पाउन सकिन्छ। गीतकार डा.रिजाल आफै भिडियोमा प्रस्तुत भएका छन्। उनका साथमा डा.रिता गुरुङ, डा.भगवान कोइराला, डा.पुकारचन्द्र श्रेष्ठ, डा.ज्योतिन्द्र शर्मा लगायतले पनि अभियन गरेका छन्। उनीहरुको अभिनय जीवन्त देख्न सकिन्छ।
डा.रिजालका यसअघि रेकर्डेड गीत (२०२० साल)मा ‘म मान्दिनँ जात र धर्म कसैको’हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ रहेको छ। जुन उनको स्वरको पहिलो रेकर्डेड गीत हो। डा. रिजालकै रचना,सङ्गीत र स्वरमा रेकर्ड भएको यो गीत अहिले पनि सञ्चारमाध्यममा उतिकै मात्रामा बजिरहेका हुन्छन्।
डा. रिजाल वि.सं. २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिएका हुन्। ३५ सयभन्दा बढी गीत लेखिसकेका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन्।