काठमाडौं :
लागु औषध तथा लागुपदार्थ दुर्ब्यसनी सम्बन्धी जनचेतनामूलक गीतको भिडियो ‘भुलको बाटो’ सार्वजनिक गरेका छन्। बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो रिलिज गरिएको हो।
गीतको भिडियोलाई प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार राजु सिंह र अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कलाकार, गीतकार तथा चलचित्र विकास बोर्डका पूर्व सदस्य उत्तम केसी, कलाकार पवन केसी, चलचित्र निर्देशक रामशरण कोइराला लगायतले सार्वजनिक गरेका हुन्। मेघ सुवेदीको भिडियो सन्देशबाट कार्यक्रम सुरुवात भएको थियो। कार्यक्रममा बोल्दै निर्देशक कुबेर तामाङले अग्रज र समकालीन कलाकार र प्राबिधिकसँग काम गर्दा सबैको साथ र सहयोग पाएको बताए।
कलाकार केसीले प्रारम्भका दिनमा आफूले कुबेर तामाङलाई फोटोग्राफरको रूपमा चिनेको भएपनि आफुले राम्रो निर्देशकको रुपमा पाएको बताए। गीतको भिडियो सान्दर्भिक र सन्देशमुलक बनेको बताउँदै उनले कलाकार, सिनेम्याटोग्राफर अनि प्राविधिक टिमको प्रशंसा गरे। यस्तै गीतकार संघका अध्यक्ष तथा गीतकार थापाले ‘भुलेको बाटो’ गीतले सान्दर्भिक र समसामयिक बिषयलाई मार्मिक ढङ्गले उठाएको बताए।
यता कार्यक्रमको अन्तिममा बोल्दै प्रमुख अतिथि सिंहले अहिले नाच्ने गीतहरू मात्र आइरहेको सन्दर्भमा कथासहित गीत बनाएकोमा निर्देशक तामाङको प्रशंसा गरे। उनले भने, ‘म त कुबेरजीको फ्यान नै भए। राम्रो गीत बनेको छ, सिंगो टिमलाई बधाई दिन चाहन्छु।’ सिसन लिम्बूले सहजिकरण गरेको कार्यक्रममा वरिष्ठ सङ्गीतकार सिंह, कलाकार केसी, गीतकार संघका अध्यक्ष थापा र म्युजिक भिडियोका सबै कलाकारलाई सम्मान गरिएको छ।
मनु खड्काको निर्माण रहेकोे ‘भुलको बाटो’ गीतमा गीतकार स्याडो रियल, गायक किरण भुजेल र गायिका श्रेया राई, संगीतकार डि आर यस क्षेत्री, मिक्सिङ तथा मास्टरिङमा किशोर थापा र एरेञ्ज सुनिल राईको छ। भिडियोको छांयाकन रामशरण उप्रेतीले र सम्पादन टेकेन्द्र शाहले गरेका छन्। यस गीतको भिडियोमा सन्जित भण्डारी, रश्मि भट्ट,दीपा शाही, मेघ सुवेदी, ऋचा थापा, आयुशा कार्की लगायतका कलाकारको अभिनय छ।