काठमाडौं :
रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैँ तारिफ बटुल्छन्। अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ। नाच्न जान्दैनन् भन्ने हुन्छ। स्वयं कलाकार पनि त्यसै भन्छन् ।
तर, यसपटक अलि फरक भयो । चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको डान्सको पनि तारिफ भइरहेको छ । अभिनयमा गज्जवको तारिफ बटुल्ने उनले यसपटक नृत्यसमा पनि वाहीवाही बटुलिरहेका छन् ।
प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा सँगै जीवन बिताउने सहमति गर्छन् । यही क्रममा रोमान्टिक देखिएका विजयको नृत्यको प्रशंसा भइरहेको छ ।
विजयको तारिफ भइरहेको छ । विजयले अभिनयसँगै नृत्यमा पनि कुशलता प्रस्तुत गर्दा यसले समग्र सिनेमालाई नै फाइदा गरिरहेको छ । चलचित्रको पब्लिसिटीमा सहयोग गरिरहेको छ। कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।