काठमाडौं :
नेपाली फिल्म ‘परान’ मा समावेश गरिएको पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको छ। दसैंको अवसर पारेर सार्वजनिक गीतलाई नृत्यप्रधान तथा विवाहको परिवेशमा आधारित बनाइएको छ।
गीतको भिडियोमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायतलाई एउटै फ्रेममा देख्न सकिन्छ। गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वर रहेको छ। शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेलले गरेका छन्। भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्।
गीत रिलिज कार्यक्रममा उपस्थित निर्माता, निर्देशक तथा कलाकारहरूले गीत दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको फिल्म ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। ‘सासले होइन, साथले चल्ने’ भन्ने ट्यागलाइन रहेको फिल्मलाई पारिवारिक कथामा निर्माण गरिएको बताइएको छ।
गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो। यो कम्पनीको एकल ब्यानरमा निर्माण गरिएको पहिलो प्रोजेक्टका रूपमा ‘परान’ आएको हो। फिल्मका निर्मातामा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन्।
फिल्मको कथा निर्देशक आचार्यकै रहेको छ भने पटकथा तथा संवाद यम थापाले लेखेका हुन्। छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादन मित्र डी. गुरुङले गरिरहेका छन्। दसैं र तिहारलगत्तै ‘परान’ देशभरका हलमा प्रदर्शनमा आउने तयारी गरिएको छ।