काठमाडौँ,
चालू आर्थिक वर्ष २०८२÷८३ को ९ महिनामा सरकारले झन्डै ५४ प्रतिशत बजेट खर्च गरेको छ ।
चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये चैत मसान्तसम्ममा १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा धेरै चालूतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालू खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरूका लागि हुने खर्च हो । यो खर्चले दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८ देखि ६२ प्रतिशतसम्म पुग्ने गर्छ ।
चालू शीर्षकमा सरकारले यस वर्षका लागि ११ खर्ब ८० अर्ब बजेट छुट्टाएकोमा समीक्षा अवधिसम्ममा ७ खर्ब ४७ अर्ब खर्च भएको छ ।
पूँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पूँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिँचाइ, जलविद्युत् जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन ।
खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले समस्या भोगिरहेका छन् । जसको असर पूँजीगत खर्चमा देखिएको छ ।
पूँजीगततर्फ चालू आर्थिक वर्षमा सरकारले ४ खर्ब ७ अर्ब बजेट छुट्टाएकोमा ९६ अर्ब १९ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो खर्च विनियोजित बजेटको २३ दशमलव ५८ प्रतिशत हो ।
सरकारले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ९ खर्ब ७ अर्ब रुपैयाँ आम्दानी गरेको छ । राजस्वबाट मात्रै सरकारले ८ अर्ब ८६ करोड रुपैयाँ सङ्कलन गरेको छ ।