सन्तोष बस्याल
पोखरा ।
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०८० आयोजना गरिने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आगामी असोज २८ गते (घटस्थापना) देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
समितिका सचिव तीर्थ श्रेष्ठले सो महोत्सवको शुभारम्भ शोभायात्रामार्फत गरिने बताए । उनले घटस्थापनाका दिन बिहान ७ बजे विन्ध्यवासिनी पार्किङबाटबाट शोभायात्रा सुरु भई मोहरिया टोल ,भैरव टोल, भिमसेन टोल, नालामुख, तेर्सा पट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिदार्थचोक, रामकृष्ण टोल, गणेशटोल हुँदै विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा पुगेर समापन हुने जानकारी गराए । उनका अनुसार शोभायात्रामा नवकन्या आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरू, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरू, सामाजिक, धार्मिक तथा जातीय, सांस्कृतिक, बैंक तथा वित्तीय संस्थाहरू, शैक्षिक संस्थाहरू, भजन समूहहरू र वाणिज्य तथा वस्तुगत संघहरूको उपस्थिति हुनेछ ।
विभिन्न सांस्कृतिक झाँकीहरुको सहभागिता मार्फत हुने शोभायात्रालाई पोखरेली सांस्कृतिक विविधताको अभिव्यक्तिको रुप दिन प्रयत्न गरिने लक्ष्य आयोजकको छ । घटस्थापना दिनदेखि नै श्रीमद्देवी भागवत ज्ञान महायज्ञ प्रारम्भ हुने विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरि शरण पौडेलबाट संगीतमय झाँकी सहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत हुने श्रेष्ठले उल्लेख गरे ।
विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा हुने महायज्ञ प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो २ बजेबाट अपरान्ह ४ बजेसम्म विभिन्न विन्ध्यवासिनी पीठाधीस स्वामी निशेषानन्द जी महाराज, दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, दार्शनिक वक्ता जगन्नाथ रेग्मी, कृष्णानुरागी आचार्य र पशुपती पौडेलबाट समेत कथा प्रवचन हुनेछ ।
विजया दशमीको अवधिभर बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेबाट भक्तजनहरूका लागि खुला गरिने श्रेष्ठले बताए । महोत्सव अविधभर रात्रिकालिन आरतीसमेत गरिने उनले उल्लेख गरे । मन्दिर परिसरमा बिहान ५ बजेबाट ९ बजेसम्म बाल गोपाल भजन मण्डल तथा विन्ध्यवासिनी महिला भजन समूह र विन्ध्यवासिनी भजन समूह लगायतबाट भजन कीर्तन हुनेछ ।
विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताइएको छ ।
झण्डै २५० वर्ष पुरानो अनुमान गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्रको संरक्षण तथा विकास गर्ने उद्देश्यले वि.सं. २०४८ सालबाट विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सक्रिय छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा विन्ध्यवासिनी धार्मिक क्षेत्र भित्र शिव मन्दिर, राधाकृष्ण मन्दिर, सन्त निवास, विन्ध्यवासिनी गुरुकुल विद्याश्रम भवन, विन्ध्यवासिनी बहुद्देश्यीय सभाभवन, अखण्ड हवन मण्डप, अष्टचिरञ्जिवी नवग्रह मन्दिर, यज्ञ मण्डपहरुको निर्माण सम्पन्न भइसकेको छ । शौचालयहरु, पानीको लागि बोरिङ् तथा खानेपानी भण्डारणको लागि ४० हजार लिटर क्षमताको टंकी निर्माण भएको छ । मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, किर्ति स्तम्भ, विशाल त्रिशुल, शक्ति ध्वजा र विशाल कमण्डलुको स्थापनाका साथै विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलको द्वार निर्माण गरिएको छ ।
भक्तजनहरुको सुविधा र सौन्दर्यिकरणका लागि प्रदक्षिणा पथ तथा अपाङ्ग, अशक्त र ज्येष्ठ नागारिहरुका लागि लिफ्टको समेत व्यवस्था गरिएको छ । विन्ध्यवासिनी वाटिका निर्माण गरि त्यसमा पानीको फोहोरा र शिवानन्द कुण्डको निर्माण गरिएको आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०५१ सालबाट विन्ध्यवासिनी गुरुकुल विद्याश्रम संचालन गर्दै आएको छ । यस्तै २०७१ सालबाट विन्ध्यवासिनी एम्बुलेन्स सेवा, प्राकृतिक चिकित्सालय र २०७२ सालबाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र संचालन गरि सामाजिक सेवाको क्षेत्रमा समेत समितिले आफ्नो संलग्नता बढाएको पाइन्छ ।
कोभिड अगाडि विन्ध्यवासिनी मन्दिरमा दैनिक एक लाख रुपैयाँ भेटी संकलन भएता पनि अहिले भने घटेर ५० हजारको वरिपरि पुगेको सचिव श्रेष्ठले बताए । “कोभिड अगाडि दैनिक एक लाख भेटी संकलन हुन्थ्यो । अहिले त्यस्तो छैन । दैनिक सरदर ५० हजार रुपैयाँ बराबरको भेटी संकलन हुन्छ ।”, उनले भने ।
विन्ध्यवासिनी धार्मिक क्षेत्रको संरक्षण र संचालनका लागि ६५ जनालाई रोजगार दिइएको छ । विन्ध्यवासिनी मन्दिर परिसरमा मासिक १५ लाख र विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको ८ लाख गरि मासिक २३ लाख खर्च हुँदै आएको श्रेष्ठले जानकारी गराए । उनका अनुसार पुजारीहरुले मासिक २० हजार देखि ४० हजार सम्म तलब खाने गरेका छन् ।
श्रेष्ठले सरकारले पर्यटन क्षेत्रको अन्य माध्यमलाई बढ्वा दिँदा धार्मिक क्षेत्र भने गौण रहेको उल्लेख गरेका छन् । “धार्मिक पर्यटन गौण मानिएको छ । नेपाल सरकार र नेपाल पर्यटन बोर्डको नीतिमा धार्मिक पर्यटनलाई उपेक्षा गरिएको छ । जसले गर्दा सोचेजस्तो धार्मिक पर्यटकलाई भित्र्याउन असक्षम भएका छौं ।”, उनले भने ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको समेत धार्मिक पर्यटन विकासमा खासै चाँसो नभएको अभिव्यक्ति उनको छ । उनले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले भेटीका विषयमा पारदर्शी रुपमा आम सर्वसाधारणलाई जानकारी दिँदै आएको उल्लेख गरेका छन् । भेटी कति उठ्यो विन्ध्यवासिनी मन्दिरमा राखिएको डिस्प्ले बोर्ड मार्फत जानकारी गराइन्छ । यस्तै वार्षिक रुपमा हुने साधारणसभा मार्फत समेत आर्थिक विषयमा प्रष्ट पार्दै आएको उनले बताए । श्रेष्ठका अनुसार पोखराको पर्यटन विकासमा धार्मिक पर्यटनले महत्वपूर्ण भूमिका खेल्छ । जसको श्रीवृद्धिका लागि पर्यटन व्यवसायी, धार्मिक क्षेत्र विकास समिति र सरकार एक भएर लाग्नुपर्ने आवश्यकता छ ।