सुचना, समाचार र मनोरन्जन

फुकुओकामा नेपाली स्वाद : विनोद शाहको ‘सुजु करी हाउस’

 

जापान : एक सुन्दर साँझ, फुकुओकाको गल्लीमा पाइला चाल्दै गर्दा नाकैभरि आउने मसलेदार गन्धले मनै लोभ्याउँछ। त्यही गन्धको स्रोत हो, ‘सुजु करी हाउस’।

यो कुनै सामान्य रेस्टुरेन्ट होइन, यो हो स्वाद, सम्झना र सपनाको संगम। र यसको पछाडि छन् – विनोद शाह, पोखराका एक युवा उद्यमी, जो आज आफ्नो पहिचान जापानमा नेपाली स्वादका ब्रान्ड एम्बासडरका रूपमा बनाउँदै छन्।

२६ वर्षीय शाहको यात्रा सजिलो थिएन। १२ वर्षअघि एक विद्यार्थीका रूपमा जापान टेक्दा उनीसँग थिए केवल सपना र संघर्षको आँट। आज त्यो संघर्ष फलदायी ‘सुजु करी हाउस’मार्फत बनेको छ ।

‘जापानभरि घुमेँ, नयाँ स्वादहरू चाखेँ, तर जहिले पनि आफ्नै परिकारको अभाव महशुस गर्थें’, उनले भने। यही भावनाले उनलाई आफ्नै रेस्टुरेन्ट खोल्ने प्रेरणा दियो।

शाहको ‘सुजु करी हाउस’ नेपाली तथा भारतीय परिकारहरूको समावेशी थलो हो – जहाँ म:म:देखि बटर चिकन, गुन्द्रुकदेखि बिरयानीसम्म पाइन्छ।

विदेशमा आफ्नै स्वाद खोज्नेहरूका लागि यो रेस्टुरेन्ट स्वदेशकै न्यानोपन हो। त्यत्तिकै मात्र होइन, जापानी तथा अन्य विदेशीहरूका लागि यो रेस्टुरेन्ट नेपाली स्वाद र संस्कृतिको झलक दिने खिड़की पनि हो।

शाह भन्छन्, ‘हामी खाना बेचिरहेका छैनौँ, हामी सम्झना बेचिरहेका छौँ। घरको, परिवारको, नेपालकै।’

शाहको सफलता कुनै एक्लो यात्राको परिणाम होइन। उनका पिता गोविन्द बहादुर शाह पनि वर्षौँदेखि रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्। पिताको अनुभव र मिहिनेतले नै उनलाई आत्मबल र मार्गदर्शन दिएको शाह बताउँछन्।

हाल शाहको परिवारका सदस्यहरू पनि जापानमै छन् र व्यवसायमा उनको साथ दिइरहेका छन्। परिवार, संस्कार र स्वादलाई समेटेर उनले ‘सुजु करी हाउस’लाई एउटा साझा सपना बनाएका छन्।

शाहको योजना केवल एक रेस्टुरेन्टसम्म सीमित छैन। उनले फुकुओकाबाट सुरु गरेको नेपाली स्वादको यात्रा जापानभर फैलाउने लक्ष्य राखेका छन्। स्थायीत्व, आत्मनिर्भरता र सांस्कृतिक पहिचानलाई सँगै बोकेर अगाडि बढिरहेका शाह नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन्।

‘सुजु करी हाउस’ फुकुओकाको नेपाली समुदायको गर्वका रूपमा प्रस्तुत गर्न आफू लागि परेको उनले बताए।

Leave A Reply

Your email address will not be published.