सुचना, समाचार र मनोरन्जन

विनोद बानियाँको मन्त्र र विद्यार्थीको बेजोड प्रस्तुतिमा गुञ्जियो गोपाल योञ्जनको देशप्रेम

सुनिता शर्मा/पोखरा

उत्तरतिर टलक्क टल्किएको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको विशाल लर्कन। माथि कतै दाग नलागेको कञ्चन निलो आकाश । छेवैमा निरन्तर सुसेली हाल्दै बगेको सेती नदीको प्राकृतिक संगीत र काहुँडाँडाको शालिन उपस्थिति। प्रकृतिको यो अनुपम रङ्गमञ्चमा पोखराको फूलबारीस्थित सैनिक आवासीय महाविद्यालयको फराकिलो चौरमा भने बेग्लै रौनक छाएको थियो । रुख, वृक्ष, फूल र लताका पातहरू सिर्सिरे हावासँगै नृत्य गरिरहेका थिए भने एक हुल चराहरू नजिकैका अग्ला सिसौका हाँगामा बसेर तल भइरहेको मानिसहरूको सांगीतिक उत्सवलाई नियालिरहेका थिए।

प्रकृति आफैँ लट्ठ परेको त्यो परिवेशमा एउटा ओजपूर्ण स्वर गुञ्जियो ‘म झुक्दै नझुक्ने नेपालको छोरो…’ यो स्वर कुनै स्थापित दिग्गज गायकको थिएन, तर त्यसमा दिग्गजहरूको जस्तै वजन थियो । यो स्वर थियो कक्षा ७ मा अध्ययनरत कलिला विद्यार्थी बियान अधिकारीको, जसलाई कोरसमा साथ दिइरहेका थिए आकाशे रङको कमिज, मसी रङको पाइन्ट र फ्रक, निलो कोट र शिरमा कालो भादगाउँले टोपी लगाएका अनुशासित विद्यार्थीहरूको एक हुलले। र, यो सम्पूर्ण सांगीतिक माहौलको सूत्रधार थिए चर्चित गायक तथा संगीतकार र यसै महाविद्यालयका संगीत शिक्षक विनोद बानियाँ। विनोद बानियाँः पुस्ताान्तरणका सेतु नेपाली सुगम संगीतको फाँटमा विनोद बानियाँ एउटा परिचित नाम हो। पोखराको माटोबाट उदाएर राष्ट्रिय स्तरमा आफ्नो गायकी र संगीतको जादु छर्न सफल बानियाँ केवल एक कलाकार मात्र होइनन्,उनी एक कुशल गुरु र मार्गदर्शक पनि हुन्।

मान्छे, डाउट अनि प्रोफाइल लगायत खेलकुद गीतहरू लौ आयो भलिबल, आहा रारा गोल्डमा, खेलाडी खेलाडी, गजल र बालगीत जस्ता एल्बम र दर्जनौँ हिट गीतहरू पस्किसकेका बानियाँको संगीतमा आधुनिकता र मौलिकताको बेजोड सङ्गम पाइन्छ। उनको स्वरमा जति मिठास छ, संगीत सिकाउने शैलीमा उति नै धैर्यता र निपुणता छ। महाविद्यालयको २१ औँ वार्षिकोत्सव (२०८२ पुस १४) को सन्दर्भ पारेर उनले विद्यार्थीहरूलाई एउटा यस्तो गीत गाउन सिकाए, जुन गीत गाउनु मात्र होइन, महसुस गर्नु पनि आफैँमा चुनौतीपूर्ण मानिन्छ। गोपाल योञ्जनजस्तो शिखर व्यक्तित्वको सिर्जनालाई कलिला विद्यार्थीहरूको घाँटीबाट गुञ्जाउनु चानचुने कुरा थिएन।

तर, विनोद बानियाँले विद्यार्थीहरूको गला र कलामा ऊर्जा, उत्साह र उमङ्गको रङ यसरी भरे कि, त्यो प्रस्तुति एउटा सामान्य गायन नभएर एक ऐतिहासिक ‘सांगीतिक कोशेली’ बन्न पुग्यो । उनले गितारका तार र ड्रमसेटको तालमा मात्र होइन, विद्यार्थीहरूको मनमा देशप्रेमको भावना पनि भरिदिए।  पाँच भाइको गितार वादन, ड्रमसेट र किबोर्डको संयोजनमा उनले गरेको तयारीले व्यावसायिक ब्यान्डको झझल्को दिन्थ्यो। गोपाल योञ्जनको सम्झना र राष्ट्रवादी भावना नेपाली संगीत आकाशका एक देदीप्यमान नक्षत्र गोपाल योञ्जन, जसलाई ‘नेपाली माटोको गायक’ भनेर चिनिन्छ, उनको उपस्थिति भौतिक रूपमा नभए पनि उनका गीतहरूले हरेक नेपालीको नशानशामा रगत उम्लाउने सामथ्र्य राख्छन्।

‘मितज्यू’ (नारायण गोपाल) का अनन्य मित्र योञ्जनले नेपाली संगीतलाई आधुनिकता मात्र दिएनन्,स्वाभिमान र राष्ट्रियताको पाठ पनि सिकाए । उनका गीतहरूमा हिमाल हाँस्छ, पहाड बोल्छ र तराई मुस्कुराउँछ। ‘म झुक्दै नझुक्ने नेपालको छोरो’, यो गीत आफैँमा एउटा गर्जन हो,एउटा प्रतिज्ञा हो। विनोद बानियाँको परिकल्पना र निर्देशनमा जब विद्यार्थीहरूले यो गीत गाउन थाले, लाग्थ्यो, गोपाल योञ्जन स्वयम् त्यही चौरमा उपस्थित भएर मुस्कुराइरहेका छन्। मिन पचासको चिसो सिरेटो चलिरहेको पुसको महिनामा पनि उपस्थित २७ सयभन्दा बढी दर्शक, शिक्षक, अभिभावक र सैनिक अधिकारीहरूको शरीरमा रगत तातेको महसुस हुन्थ्यो। योञ्जनको शब्दशक्ति र संगीतको जादुले चिसो मौसमलाई पनि न्यानो बनाइदिएको थियो।

बियान अधिकारीः सानो शरीर, ‘मर्दाना’ आवाज सामूहिक वाद्यवादन र गायनको बीचमा सबैको ध्यान खिच्न सफल भए, कक्षा ७ का छात्र बियान अधिकारी। उनको उमेर कलिलो भए पनि स्वरमा भने परिपक्वता र गाम्भीर्यता थियो। जसलाई संगीतको भाषामा ‘मर्दाना’ आवाज भनिन्छ, बियानले त्यही बुलन्द आवाजमार्फत उपस्थित हजारौँलाई मन्त्रमुग्ध बनाए । उनको गायकीमा यति शक्ति थियो कि कार्यक्रमका प्रमुख अतिथि श्री पश्चिम पृतना हे.क्वा.का पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी भोलानाथ थापा स्वयम् मोहित भए । एउटा सैनिकको सर्वोच्च कमाण्डरलाई एउटा विद्यार्थीको स्वरले लठ्ठ पार्नु सामान्य कुरा होइन।

बियानको प्रस्तुति सकिए लगत्तै उपरथी थापाले उनको प्रतिभाको उच्च कदर गर्दै ‘बक्सिस’ प्रदान गरे। यो क्षण बियानका लागि मात्र होइन,उनको प्रतिभा निखार्ने गुरु विनोद बानियाँका लागि पनि गर्वको क्षण थियो। वार्षिकोत्सवको गरिमा र निष्कर्ष सैनिक आवासीय महाविद्यालय,पोखराले आफ्नो २१ वर्षे यात्रा पूरा गरेको यो सुखद अवसरमा (मिति २०८२÷०९÷१४) आयोजित वार्षिकोत्सव समारोह केवल औपचारिकमा मात्र सीमित भएन।

महाविद्यालयका प्रिन्सिपल डोलराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लोक नृत्य, नाटक, कराँते, तेक्वान्दो र राष्ट्रिय सेवादलको एरोबिक प्रदर्शनले महाविद्यालयको बहुआयामिक शैक्षिक वातावरणको झलक दिएको थियो । सोही अवसरमा महाविद्यालयको वार्षिक मुखपत्र ’फूलबारी’ को २१ औँ अङ्क विमोचन गरिनु र उत्कृष्ट शिक्षक कर्मचारीलाई पुरस्कृत गरिनुले शैक्षिक गुणस्तरप्रतिको प्रतिबद्धतालाई दर्साउँथ्यो । तर, यी सबै औपचारिकताबिच विनोद बानियाँको संगीत संयोजन र विद्यार्थीहरूको त्यो ओजपूर्ण गायन नै कार्यक्रमको ‘शो स्टपर’ बन्यो। कार्यक्रम सञ्चालक पी.जी.टी. उपेन्द्र प्रसाद पौडेलको कुशल उद्घोषणले कार्यक्रमलाई थप व्यवस्थित बनाएको थियो। अन्ततः माछापुच्छ्रेको काखमा सम्पन्न यो सांगीतिक अनुष्ठानले एउटा स्पष्ट सन्देश दिएको छ, संगीत केवल मनोरञ्जन होइन, यो राष्ट्रप्रेम जगाउने र पुस्ता जोड्ने एउटा शक्तिशाली माध्यम हो।

गोपाल योञ्जनले रोपेको राष्ट्रियताको बीउलाई विनोद बानियाँजस्ता गुरुहरूले मलजल गरिरहेका छन् र बियान अधिकारीजस्ता नयाँ कोपिलाहरूले त्यसलाई फक्राउने जिम्मा लिएका छन्। नेपाली संगीत र राष्ट्रियताको भविष्य सुरक्षित हातमा छ भन्ने यो भन्दा बलियो प्रमाण अरू के हुन सक्छ ? गुरु विनोद बानियाँ र चेला बियान अधिकारीलाई शुभकामना ।

Leave A Reply

Your email address will not be published.