सुचना, समाचार र मनोरन्जन

सुमन ज्योती र झरनाको मुख्य अभिनयमा ‘बम बिहारी’ बन्ने

काठमाडौँ :

नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभ मुहूर्त भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा–अर्चना गरी गरिएको छ। बुधबार गरिएको शुभ मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्मलाई डिएमएस मल्ले निर्देशन गर्दैछन्। यो उनको डेब्यु निर्देशन हो। यसअघि उनले करिब ५० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । फिल्मको छायांकन अवधि एक महिना तय गरिएको छ। निर्देशक मल्लका अनुसार पहिलो चरणमा काठमाडौंमा एक साताको छायांकन हुनेछ भने त्यसपछि टिम नेपालगन्ज जानेछ।

‘बम बिहारी’ नेपाली आमा र भारतीय बाबुका छोराको कथामा आधारित फिल्म हो। ‘बम बिहारी’ फिल्मको मुख्य पात्रको नामसमेत हो र कथा सोही पात्रको वरिपरि घुम्ने निर्देशक मल्लले बताएका छन्। फिल्मको कथा र लगानी पनि निर्देशक स्वयंको रहेको छ।

फिल्ममा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ। सुमन ज्योती न्यौपाने फिल्ममा नकारात्मक भूमिकामा देखिनेछन्। उनले आफू नै ‘बम बिहारी’ पात्र रहेको बताएका छन्।

अभिनेत्री झरना रिसाल सात वर्षपछि फिल्ममा पुनः फर्किएकी छन्। यसअघि उनले ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ फिल्ममा अभिनय गरेकी थिइन्। ‘बम बिहारी’ उनको चौथो फिल्म हो।

फिल्ममा सुरेन्द्र बसेलको कोरियोग्राफी, सरोज बुढाथोकीको मेकअप, सुमन काफ्ले प्रोडक्सन म्यानेजर र गौतमराज खड्काको सम्पादन रहनेछ। रामेश्वर हुमागाईंको टिमले छायांकन गर्ने फिल्ममा मुख्य सहायक निर्देशक बिनयराज पौडेल र सहायक निर्देशक पुरुषोत्तम पण्डित रहेका छन्। फिल्ममा अनुपम चौधरीका गीत समावेश रहनेछन्। फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन।

Leave A Reply

Your email address will not be published.