सुचना, समाचार र मनोरन्जन

ब्यवसाय प्रबर्द्धन केन्द्र पाँच वर्षमा : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा पोखरा महानगर

पोखरा,

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत सञ्चालित व्यवसाय प्रवर्द्धन केन्द्र (BPC) स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले BPC ले उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धनका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो। स्थानीय युवाको सीपलाई रोजगारीसँग जोड्दै व्यवसाय सञ्चालनका लागि आवश्यक परामर्श र सहजीकरणलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले BPC लाई महानगरपालिकाको आर्थिक विकाससँग जोडिएको स्थायी र प्रभावकारी संस्थागत संयन्त्रका रूपमा विकास गरिने बताउनुभयो। केन्द्रका कार्यक्रमलाई परिणाममुखी बनाउँदै निजी क्षेत्रसँगको सहकार्य विस्तार गरिने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेललगायतले उद्यमशीलता, व्यवसाय तथा पर्यटन विकासका लागि महानगरपालिका र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताउनुभयो।

Chaka Panja

BPC का कार्यकारी प्रमुख नवराज अधिकारीका अनुसार केन्द्रले पाँच वर्षको अवधिमा सीप विकास, रोजगारी सिर्जना, व्यवसाय इन्क्युबेसन तथा व्यावसायिक परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपाल सहरी उत्थानशीलता कार्यक्रम (NURP) तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा उद्यमशीलता तथा व्यवसाय इन्क्युबेसन केन्द्र (EBIC) को अवधारणाबाट विकसित BPC ले व्यवसाय योजना निर्माण, दर्ता तथा कानुनी प्रक्रिया, वित्तीय व्यवस्थापन, बजार पहुँच, ब्रान्डिङ र डिजिटल प्रविधिसम्बन्धी परामर्शसमेत उपलब्ध गराउँदै आएको छ।

केन्द्रले उद्यमी तथा व्यवसायीबीच नेटवर्किङ र साझेदारी विस्तार, नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार विस्तारलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.