काठमाडौं :
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ चलचित्रहरूको प्रदर्शन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत मंगलबारदेखि काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा सुरु भएको छ।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रम आगामी बिहीबारसम्म जारी रहनेछ। महोत्सवको उद्घाटन सागर झान निर्देशित क्राइम थ्रिल्लर चलचित्र ‘ट्रयाप्ड’ को प्रदर्शनसँगै गरिएको थियो भने पहिलो दिन अन्य दुई चलचित्रहरू ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएका छन्।
काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको सहयोगमा सञ्चालित यस कार्यक्रमको उद्घाटन सत्रमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ नेपाली निर्देशक तुलसी घिमिरे तथा नेपालका विभिन्न चलचित्र सम्बद्ध संघसंस्थाका पदाधिकारी एवं कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका अध्यक्ष पाठकले यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको द्विपक्षीय मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने र चीनमा नेपाली फिल्म वितरण तथा प्रदर्शनका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि मिनिस्टर काउन्सिलर चउ पानले चलचित्र केवल मनोरञ्जनको साधन मात्र नभई यसले सामाजिक, राजनीतिक र सांस्कृतिक परिवेश बुझ्न तथा दुई देशका नागरिकलाई निकट ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले चलचित्रकर्मीहरूबीच व्यावसायिक सहकार्यको बाटो खोल्ने धारणा राखे।
सोही अवसरमा वरिष्ठ निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली चलचित्रको प्रदर्शन र वितरणका लागि आवश्यक सहयोग र सहकार्यका लागि चिनियाँ पक्षसँग सहजीकरणको आग्रह गरे। उद्घाटन फिल्म ‘ट्रयाप्ड’ को प्रदर्शनपछि आयोजित अन्तरक्रियामा निर्देशक सागर झानले फिल्मको कथा पूर्ण काल्पनिक भए तापनि यसमा आफ्नो किशोर अवस्थाको स्मृति र परिवेशलाई उतारेको जानकारी दिए। नेपाली दर्शक र पत्रकारहरूको प्रश्नको जवाफ दिँदै निर्देशक झानले आफू नेपाली चलचित्र बजार र दर्शकको रुचाइबारे जानकार रहेको र यो फिल्म नेपाली दर्शकका लागि एक फरक स्वाद र सकारात्मक अनुभव बन्ने दाबी गरे।