पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आसन्न ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनको निर्वाचनमा अन्तिम समयमा सदस्य पदको समीकरण फेरिएको छ। यसअघि साझा टिम बनाएर निर्वाचनमा जाने तयारीमा रहेका उम्मेदवारमध्ये दुधमान गुरुङ ‘आशिष’ले मनोनयनपत्र नलिएपछि नयाँ राजनीतिक तथा व्यावसायिक समीकरण बन्ने अवस्था सिर्जना भएको हो।
मनोनयनको अन्तिम समयमा हरिप्रसाद अधिकारी, दिलीपकुमार श्रेष्ठ, निर्मला चापागाईं, रामेश्वर अधिकारी र गोविन्दबहादुर केसी सदस्य पदका लागि थपिएका छन्। एक उम्मेदवार बाहिरिनु र पाँच नयाँ आकांक्षी थपिनुले यसअघि तय भएको साझा टिमको संरचना फेरिने निश्चितजस्तै भएको छ।
पोखरा उद्योग वाणिज्य संघको विधानअनुसार खुला सदस्यतर्फ १० जना निर्वाचित हुने व्यवस्था छ। यसअघि अमृत पोखरेलको संयोजकत्वमा सूर्यराज घिमिरे ‘सुरेश’, दुर्गा बराल, नवीन नापित, मनोहरि पौडेल, राम कँडेल, दुधमान गुरुङ ‘आशिष’, कमलबहादुर सुनार, एकनारायण गौतम र भानुभक्त अधिकारीसहितको १० सदस्यीय समूहले साझा टिमका रूपमा निर्वाचनमा जाने घोषणा गरेको थियो।
साझा टिमले पोखरेली उद्योगी–व्यवसायीको चाहनाअनुसार सदस्य पदका उम्मेदवारहरू एकताबद्ध भएर अध्यक्ष तथा पदाधिकारीका साझा उम्मेदवारसँगै प्रतिस्पर्धामा जाने बताएको थियो। निर्वाचन जित्नेमात्र नभई संघलाई थप बलियो, एकताबद्ध र प्रभावकारी बनाउने उद्देश्यसहित साझा घोषणापत्र र एउटै एजेन्डामा अघि बढ्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको थियो।
तर, मनोनयनको अन्तिम घडीमा आएको फेरबदलले उक्त समीकरणलाई चुनौती दिएको छ। गुरुङले मनोनयनपत्र नलिएपछि पुरानो टिममा एउटा स्थान रिक्त भएको छ भने पाँच नयाँ आकांक्षीको प्रवेशले सदस्य पदमा प्रतिस्पर्धा थप रोचक बनेको छ।
अब मुख्य चासो नयाँ १० सदस्यीय साझा टिममा को–को समेटिन्छन् भन्नेमा केन्द्रित भएको छ। त्यति मात्रै होइन, नयाँ टिमको नेतृत्व कसले गर्ने र कुन अध्यक्षका उम्मेदवारसँग त्यसको समीकरण बन्ने भन्ने विषयले पनि निर्वाचनको माहोल थप तात्ने देखिएको छ।
सदस्य पदका उम्मेदवारबीच हुने सहमति र समन्वयले अध्यक्ष तथा पदाधिकारीको निर्वाचनमा समेत प्रभाव पार्न सक्ने भएकाले यो समूहलाई निर्णायक शक्तिका रूपमा हेरिएको छ। विशेषगरी अन्तिम समयमा थपिएका पाँच उम्मेदवार कुन समूहसँग नजिक हुन्छन् भन्ने विषयले आगामी समीकरणको दिशा निर्धारण गर्न सक्ने देखिन्छ।
यससँगै पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको प्रतिस्पर्धासँगै सदस्यतर्फको ‘१० को टिम’ पनि चर्चाको केन्द्रमा आएको छ।अब प्रश्न एउटै छ—नयाँ १० सदस्यीय साझा टिम कसले बनाउँछ, कसले नेतृत्व गर्छ र त्यसको प्रभाव अध्यक्ष पदको निर्वाचनमा कति पर्छ? यसको जवाफले संघको आगामी नेतृत्वको समीकरणसमेत प्रभावित पार्ने देखिन्छ।