सुचना, समाचार र मनोरन्जन

कांग्रेस संसदीय दलको सचेतकमा प्रकाश बराल, नेतृत्वमा नयाँ ऊर्जा

पोखरा/

गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलले आफ्नो संरचना पूरा गर्दै नयाँ नेतृत्व टोली घोषणा गरेको छ। बुधबार पोखरामा सम्पन्न बैठकले प्रकाश बराललाई संसदीय दलको सचेतकको रूपमा चयन गरेको छ। बरालले आफ्नो कुशल नेतृत्व र अनुभवले दललाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

सचेतक पदमा नियुक्त भएपछि बरालले भने, “दलभित्रको एकता र समन्वयलाई प्राथमिकता दिएर काम गर्नेछु। पार्टीका सम्पूर्ण जनप्रतिनिधिलाई सँगै लिएर प्रदेशको विकासमा योगदान दिनु मेरो प्रमुख उद्देश्य हुनेछ।”

बैठकले जितप्रकाश आलेको संयोजकत्वमा अनुशासन समिति गठन गर्दै सरस्वती गुरुङ र नम्दु गुरुङलाई सदस्य चयन गरेको छ। यस्तै, दलको कोषाध्यक्षमा अशोककुमार श्रेष्ठ र सदस्य सचिवको जिम्मेवारी सरस्वती अर्याल तिवारीले पाएका छन्।

सांसदहरूले संसदीय दललाई पूर्णता दिने नेतृत्वको यो कदमलाई स्वागत गर्दै गण्डकी प्रदेशमा नेपाली कांग्रेसको कार्यक्षमता अझ बलियो हुने अपेक्षा गरेका छन्। प्रकाश बरालको नियुक्तिले कांग्रेसभित्र नयाँ ऊर्जा थप्ने र प्रभावकारी नेतृत्वका लागि मार्गदर्शन गर्ने विश्लेषण गरिएको छ।

Leave A Reply

Your email address will not be published.