सुचना, समाचार र मनोरन्जन

गीतकार डम्बर याक्सोका पाँच गीतको श्रव्य दृश्य लोकार्पण

काठमाडौं :

गीतकार डम्बर याक्सोद्वारा रचित पाँच गीतको श्रव्य दृश्य लोकार्पण गरिएको छ। गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष शुभ मुकारुङको सभापतित्व एवम् सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाको प्रमुख आतिथ्यतामा पाँच गीतको श्रव्य दृश्य लोकार्पण गरिएको हो।

सेवा रेकर्डिङको आयोजनामा भएको उक्त कार्यक्रममा उपस्थित अतिथिलाई सङ्गीतकार शान्तिराम राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । सङ्गीतकार राईले गीतकार डम्बर याक्सो संक्षिप्त परिचय दिंदै जीवनका अनुभवलाई गीतमा सरल तरिकाले प्रस्तुत गरिएको बताए।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, वरिष्ठ कवि तथा गीतकार राजन मुकारुङ, वरिष्ठ कवि, गीतकार प्राज्ञ श्रवण मुकारुङ, नेपाल सरकारका उपसचिव अमरदीप सुनुवार, गीतकार रमेश कोईराला, गायक दिपक लिम्बू,गायिका दीपा सुहाङ, गीतकार विष्णु भण्डारी, गीतकार जीवन मुकारुङ, गायक अशोक मुकारुङ लगायतका विशिष्ट व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियोे। कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिइन्।

मुस्कान छैन, आमाको तिर्सना, म त तिम्रो नजरमा जीउँदै मरेको मान्छे, निष्ठुरी रहेछौ दैव, अति सुन्दर छ हाम्रो हाङपाङ गाउँको श्रव्यदृश्य लोकार्पण गरिएको थियो । शुभकामना मन्तव्य दिँदै साहित्यकार लक्ष्मी उप्रेतीले डम्बर याक्सोका सिर्जनाले मन जितेको बताइन् । साहित्यकार उप्रेतीले गीत सङ्गीत र साहित्य देशको अभिन्न अङ्ग भएको बताइन्। वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले डम्बर याक्सो विशिष्ट श्रेणीको गीतकार भएको बताए । खगोल र भूगोलको गीत, मानवीय संवेदना, लाहुरेको कथा र माटोको सुगन्ध भएको बताए।

गोपीकृष्ण प्रसाईंले साहित्यकने विविध विधामा कलम चलाउने गीतकार डम्बर याक्सोले हाङपाङ्ग जस्तो जन्मभूमिदेखि विश्व भ्रमणका क्रममा भोगेका भोगाइलाई गीतमा चित्रण गरेको बताए । वरिष्ठ कवि गीतकार तथा प्राज्ञ श्रवण मुकारुङले गीतकार डम्बर याक्सो गीतिलेखनमा विशेष क्षमता भएको गीतकार कवि भएको बताए । गीतकार याक्सोका सिर्जनाले आफूलाई प्रभावित बनाएको बताउँदै सिर्जना सदाबहार बन्ने बताए । पछिल्लो समय भाइरलको पछाडि लागेको समाज देख्दा क्षणिक आनन्द लिएको हुँदा त्या नलाग्न अनुरोध समेत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार डम्बर याक्सो देश र परिवेश सुहाउँदो गीत सिर्जना गर्ने गीतकार भएको बताए । अध्यक्ष थापाले सिर्जनाको धनीले अब आर्थिक र बौद्धिक सम्पत्ति जोगाउन पनि अनुरोध गरे । अध्यक्ष थापाले डम्बर याक्सो जस्ता स्रष्टाहरुले लगानी मात्र गरिरहेको र त्यसको प्रतिफल प्राप्त नगरेको हुँदा कानूनी रुपमा बौद्धिक सम्पत्तिको अधिकारलाई सुनिश्चित गराउनुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै कार्यक्रमलाई समापन गर्दै गीतकार संघका पूर्व अध्यक्ष शुभ मुकारुङले गीतकार डम्बर याक्सो बुहआयामिक गीतकार तथा कवि भएको बताए । लेखनका हिसाबले गीतकार याक्सोका सिर्जनाहरुले आफूलाई मन छोएको बताउँदै उनले अबका दिनमा पनि निरन्तरता जारी रहोस् भन्ने शुभकामना दिएका थिए। कार्यक्रममा गायक दिपक लिम्बू, गायक अशोक मुकारुङ र गायिका दीपा सुहाङ लगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

Leave A Reply

Your email address will not be published.