सुचना, समाचार र मनोरन्जन

फिल्म ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा

काठमाडौं :

फिल्म ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार यो फिल्म आगामी भदौ १९ गते बाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो।

हरि लम्सालको निर्देशनमा निर्माण भएको निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार यो फिल्मलाई कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा देशभरका फिल्ममा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिएको छ। नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार लम्सालले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो फिल्मको कथा र पटकथा संगीत र गायनमा स्थापित लम्साल आफैँले तयार पारेका हुन्।

संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा कौतुहलता र चासो रहने भएको छ। फिल्म ‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा निर्माण गरेका थिए।

यो फिल्मले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ। गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको फिल्मको निर्माण पक्षले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राख्दै आएको थियो। केही दिनअघि छायांकन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त फिल्मको मुख्य भूमिकामा रहेको जानकारी बाहिर ल्याएको थियो।

झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन्। वास्तविक जीवनका आमा(छोरी रहेका उनीहरु फिल्ममा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन्। फिल्मको शीर्षकले यो एक शुद्ध सामाजिक कथावस्तु हुने संकेत गर्छ। नेपाली परिवारमा बुवाको महत्त्व,उनले सन्तानको भविष्यका लागि गर्ने त्याग,संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ। विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ।

यो फिल्ममा शिवराम श्रेष्ठको छायाकंन रहेको छ। श्रेष्ठले यसअघि चर्चाको शिखरमा रहेका र व्यापारिक रूपमा ब्लकबस्टर सावित भएका फिल्महरू ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता फिल्महरू खिचेर आफ्नो कौशल प्रदर्शन गरिसकेका छन्। फिल्म ‘बा : एक योद्धा’ भिजुअलका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ। फिल्मको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरूमा काम गर्दै आएकाले यस फिल्मबाट दर्शकलाई एक भावनात्मक र सामाजिक विषयवस्तुमा आधारित सोशल ड्रामा युक्त मनोरञ्जनात्मक सिनेमा दिने अपेक्षा राखेको छ।

Leave A Reply

Your email address will not be published.